खाडीका धेरै मुलुकले क्षेप्यास्त्र र ड्रोन आक्रमण सामना गर्न परिरहेको बताएका छन्। बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत अलार्म साइरन सक्रिय पारिएको र मानिसहरूलाई शान्त रहन र नजिकका सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उल्लेख गरेको छ।
बहराइनले भनेको छ, ‘मानिसहरूलाई आधिकारिक च्यानलमार्फत प्राप्त जानकारी पालना गर्न आग्रह गरिएको छ।’ यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले देशको वायु रक्षा प्रणालीले इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्र र ड्रोनको जवाफ दिइरहेको बताएको छ।
यूएईको रक्षा मन्त्रालयले भनेको छ, ‘सुनिएका आवाज क्षेप्यास्त्र र ड्रोन रोक्दाका हुन्।’ उता कुवेतको सेनाले पनि वायु रक्षा प्रणालीले शत्रुको क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेको बताएको छ।
कुवेती सेनाको जनरल स्टाफले भनेका छन्, ‘विस्फोट शत्रुको आक्रमणलाई अवरोध गर्ने वायु रक्षा प्रणालीका कारण सुनिएका हुन्।’कुवेतले सबै मानिसलाई सम्बन्धित अधिकारीले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।