Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

बलात्कारपछि अत्यधिक रक्तस्रावले १६ वर्षीया इनिसा विकको मृत्यु

बलात्कारपछि अत्यधिक रक्तस्रावले १६ वर्षीया इनिसा विकको मृत्यु

पत्रपत्रिका

२९, फाल्गुण २०८२
बलात्कारपछि अत्यधिक रक्तस्रावले १६ वर्षीया इनिसा विकको मृत्यु

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि भएको अत्यधिक रक्तस्रावका कारण ज्यान गएको पुष्टि भएको छ । यौनांगमा गहिरो चोट देखिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको तथ्य शवको पोस्टमार्टम रिपोर्टले देखाएको हो । भेरी अस्पताल नेपालगन्जबाट फरेन्सिक विशेषज्ञ टोली सुर्खेत आएर पोस्टमार्टम गरेको थियो ।

images

टोलीले बुझाएको प्रारम्भिक रिपोर्टमा इनिसाको यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्तस्राव भएको उल्लेख छ । ‘मृतक किशोरीको यौनांगको बाहिरी र भित्री भाग च्यातिएको छ । ढाडमा घस्रिएर चोटपटक लागेको देखियो,’ भेरि अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले भने, ‘यौनांगमा भएको गहिरो चोटका कारण अत्यधिक रक्तस्राव भएको र त्यही कारण उनको मृत्यु भएको देखिन्छ ।’

सुर्खेतको गुर्भाकोट नगरपालिका-६, बडाखोली स्थायी घर भई वीरेन्द्रनगर-१ बस्दै आएकी इनिसा २३ फागुनमा वीरेन्द्रनगर-४ स्थित सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । लगत्तै उनलाई प्रादेशिक अस्पताल कालागाउँमा पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

वीरेन्द्रनगरकै उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्ने इनिसा बिहान ६ बजे ट्युसन पढ्न जाने भनेर घरबाट निस्किएकी थिइन् । जिप्रका सुर्खेतका अनुसार घटनामा संलग्न १६ वर्षीय एक किशोर घटना भएकै दिन पक्राउ परेका थिए ।

त्यसको भोलिपल्ट इनिसाको परिवारले सामूहिक बलात्कार भएको भन्दै अन्य तीन किशोरविरुद्ध पनि जाहेरी दिएपछि १५, १६ र १७ वर्षका उनीहरू पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर सुर्खेतका प्रमुख एसपी सुधीर शाहीले पनि पक्राउ परेकाको बयान र पोस्टमार्टम रिपोर्टलाई आधार मान्दा जबर्जस्ती करणी पुष्टि भएको बताए । भिसेरा परीक्षणका लागि रगत र स्वाब संकलन गरिएकाले त्यसबाट थप प्रमाण खुल्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी परिसर सुर्खेतका प्रमुख एसपी सुधीर शाहीले भने, ‘भिसेरा परीक्षणका लागि पनि रगत र स्वाब संकलन गरिएको छ, त्यसबाट थप प्रमाण खुल्ला ।’ ट्युसन पढेर बिहान ९ बजे घर फर्किने इनिसा त्यस दिन अबेरसम्म पनि नआएपछि परिवारका सदस्यले फोन गरेका थिए । तर, उनको मोबाइल स्विच्ड अफ थियो ।

त्यसपछि खोजी सुरु भएको थियो । त्यसैक्रममा कोही अपरिचितले इनिसाकी आमालाई फोन गरेर ‘छोरी जंगलमा अचेत अवस्थामा रहेको’ जानकारी गराएका थिए । त्यसलगत्तै परिवारका सदस्य घटनास्थल पुगेर इनिसालाई अस्पताल लगेका थिए । तर, चिकित्सकले मृत घोषणा गरेका थिए ।

चार किशोरलाई पक्राउ गरिएकामा पीडित परिवारले अन्य पनि संलग्न हुन सक्ने भन्दै जाहेरी दिएका छन् । प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरिरहेको एसपी शाहीले बताए ।

उनले भने, ‘फरेन्सिक ल्याबमा पीडित र पीडक परिवारको मोबाइललगायत विद्युतीय सामग्रीहरू अनुसन्धानका लागि पठाइएकोमा रिपोर्ट आउन बाँकी छ ।’ इनिसाका बुबा ४० वर्षीय इन्द्रबहादुर विक वैदेशिक रोजगारीमा थिए । छोरीको मृत्युको खबरपछि उनी घर फर्किएका छन् । उनले पोस्टमार्टम रिपोर्ट आए पनि दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने बताएका छन् । इनिसाको शव प्रादेशिक अस्पताल सुर्खेतमै छ ।

सिआइबीले थप अनुसन्धान गर्दै, टोली आज सुर्खेत पुग्ने पहिलो चरणको अनुसन्धान नेपाल प्रहरीले गरेकोमा थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधबार उक्त घटनाको थप अनुसन्धानका लागि सिआइबीसँग सहयोग मागेको थियो । सिआइबीको टोली शुक्रबार बिहान सुर्खेत पुग्नेछ । -पत्रपत्रिकाबाट

images
प्रकाशित मिति :फाल्गुण २९, २०८२ शुक्रवार - ०८:३०:३३ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology