प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित महावीर पुनले पुनः किताब बेच्न सुरु गर्ने भएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पोखराको अमरसिंह चोकमा आफ्नो आत्मकथाको किताब बेच्न सुरु गर्ने बताएका हुन्। चुनावसँगै किताब पनि बेच्ने उद्देश्यले किताबहरू लिएर गएको भए पनि निर्वाचन आयोगले चुनावका बेला बेच्न नदिएको उनले उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘आज पोखरा पुगेर बिहान १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु। त्यसपछि पृथ्वीचोकमा दिउँसो १ बजेदेखि र महेन्द्रपुलमा बेलुका ४ बजेदेखि बेच्नेछु। चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरू लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावका बेला बेच्न दिएन। वीरगञ्जमा कृषि औजार कारखाना मज्जाले चलिरहेको छ, त्यसैले पैसा त चाहियो नि।’