Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोविन्द भट्टराईको चुनावी संकल्प: बुद्धसिंह मार्गका पुलहरूको निर्माण प्राथमिकता

गोविन्द भट्टराईको चुनावी संकल्प: बुद्धसिंह मार्गका पुलहरूको निर्माण प्राथमिकता

इच्छाकामना न्युज

१३, फाल्गुण २०८२
गोविन्द भट्टराईको चुनावी संकल्प: बुद्धसिंह मार्गका पुलहरूको निर्माण प्राथमिकता
images
आँबुखैरेनी । तनहुँ क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बुद्धसिंह मार्गको 'लाइफलाइन' मानिने घुमाउने पुलसहित यस सडकखण्डमा पर्ने अन्य पाँचवटा पुलको निर्माण कार्यलाई पूर्णता दिनु आफ्नो मुख्य चुनावी एजेन्डा भएको बताउनुभएको छ। १२ वर्षदेखि अलपत्र परेको घुमाउने पुल र अन्य खोलामा पुल नहुँदा यस क्षेत्रका बासिन्दाले विकासको अनुभूति गर्न नपाएको भन्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
 
उम्मेदवार भट्टराईले संचारकर्मीसँगको कुराकानीमा भने, “घुमाउने पुल मात्र होइन, बुद्धसिंह मार्गमा पर्ने सुँढेखोला, ढाँडखोला, खानी खोला, बगर खोला र भूतखोला गरी सबै पाँचवटै पुलको निर्माण कार्यलाई गति दिनु मेरो पहिलो प्राथमिकता हुनेछ। यी पुलहरूको निर्माणमा भएको ढिलासुस्ती अन्त्य गरी जनतालाई सहज आवागमनको ग्यारेन्टी म गर्नेछु।”
 
उहाँले आफू निर्वाचित भएपछि अलपत्र परेका यी योजनाहरूलाई अगाडि बढाउन सम्बन्धित मन्त्रालय र सडक विभागमा तत्काल पहल गर्ने र बजेट सुनिश्चित गराउने बताउनुभयो। “यो मार्गले नारायणगढसँगको दूरी २३ किलोमिटर छोट्याउने भएकाले यसको महत्त्व ठुलो छ। विगतमा यस क्षेत्रको नेतृत्व गर्नेहरूले चासो नदिँदा पुलहरू अलपत्र परेका हुन्,” उहाँले थप्नुभयो, “आफ्नो चुनावी वाचा पत्रमा समेत मैले यी पुलहरूलाई समेटेको छु, मेरो जित नै यी पुल निर्माणको सुनिश्चितता हो।”
 
वि.सं. २०७० सालदेखि सुरु भएको घुमाउने पुल पटक–पटकको डिजाइन परिवर्तन र निर्माण कम्पनीको ढिलासुस्तीका कारण अहिलेसम्म ३६ प्रतिशत मात्र सम्पन्न भएको छ। पुल नहुँदा यातायातका साधनहरू तनहुँकै सिमानामा पुगेर फर्कनुपर्ने बाध्यता छ। उम्मेदवार भट्टराईले बुद्धसिंह मार्गलाई वैकल्पिक राजमार्गको रूपमा पूर्णता दिँदै यस क्षेत्रको आर्थिक समृद्धि ल्याउन पुल निर्माणको कामलाई कुनै पनि बहानामा रोकिन नदिने अठोट व्यक्त गर्नुभएको छ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०८२ बुधवार - १०:०८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology