काठमाडौं । आइसिसी टी–२० विश्वकपमा नेपालले १२ वर्ष लामो जितको प्रतीक्षा समाप्त गर्दै ऐतिहासिक सफलता हात पारेको छ । मंगलबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको समूह ‘सी’ को अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले स्तब्ध पार्दै नेपालले विश्वकपमा सुखद अन्त्य गरेको हो।
सन् २०१४ को विश्वकपमा अफगानिस्तानलाई पराजित गरेयता नेपालको यो पहिलो जित हो। जारी विश्वकपका सुरुवाती तीन खेलमा पराजित भई सुपर–८ को दौडबाट बाहिरिए पनि अन्तिम खेलमा स्कटल्यान्डमाथि हात पारेको यो जित नेपालका लागि प्रतिष्ठा र कीर्तिमानका दृष्टिले महत्वपूर्ण रह्यो।
दीपेन्द्र र सोमपालको कीर्तिमानी प्रदर्शन
नेपालको जितका नायक दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै नयाँ कीर्तिमान कायम गरे। मात्र २३ बलमा ५० रन जोड्दै उनी विश्वकपमा नेपालका लागि दुईवटा अर्धशतक प्रहार गर्ने र लगातार दुई खेलमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन्। उनले यसअघि वेस्ट इन्डिजविरुद्ध पनि अर्धशतक बनाएका थिए। साथै, विश्वकपमा नेपालका लागि सर्वाधिक ७ छक्का प्रहार गर्ने रेकर्ड पनि अब दीपेन्द्रकै नाममा छ।
बलिङतर्फ सोमपाल कामीले ३ विकेट लिँदै विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन्। उनले आफ्नो कुल विकेट संख्या १० पुर्याएका छन्।
ओपनिङमा नयाँ इतिहास
१७१ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ७४ रनको ओपनिङ साझेदारी गरे, जुन विश्वकपमा नेपालको अहिलेसम्मकै उच्च साझेदारी हो। कुशल भुर्तेलले ३५ बलमा ४३ रन जोड्ने क्रममा ४ छक्का प्रहार गरे, जुन विश्वकपको एकै इनिङ्समा कुनै पनि नेपाली ब्याटरले प्रहार गरेको सर्वाधिक छक्का हो। आसिफ शेखले ३३ र गुल्सन झाले अविजित २४ रनको योगदान दिए।
स्कटल्यान्डको इनिङ्स
यसअघि टस जितेर बलिङ रोजेको नेपालले स्कटल्यान्डलाई २० ओभरमा १७० रनमा रोकेको थियो। स्कटल्यान्डका लागि माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए। नेपालका लागि सोमपालले ३, नन्दन यादवले २ तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १–१ विकेट लिए। नेपाली बलरहरूले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम ५ ओभरमा मात्र ३९ रन खर्चेर ६ विकेट लिएका थिए।
यस जितसँगै नेपालले १२ वर्षपछि विश्वकपमा आफ्नो उपस्थिति बलियो रूपमा दर्ज गराएको छ। टोलीका १५ सदस्यमध्ये यसपटक बसिर अहमदबाहेक सबै खेलाडीले मैदानमा उत्रिने मौका पाए।