आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाले कृषिमा नयाँ सम्भावनाको खोजी गर्दै रेन्वो ट्राउट माछा पालनको प्रारम्भिक परीक्षण सुरु गरेको छ। गाउँपालिका–२ खोलागाउँस्थित “साहारा कृषि तथा पशुपन्छी फर्म” सँगको साझेदारीमा परीक्षणात्मक रूपमा माछा पालन सुरु गरिएको हो।
हाल सुरुवाती चरणमा १,५०० वटा रेन्वो ट्राउटका भुरा पोखरीमा राखिएको गाउँपालिकाले जनाएको छ। परीक्षण सफल भएमा व्यावसायिक उत्पादन विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना र आयआर्जन वृद्धि गर्ने लक्ष्य रहेको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने नीति अनुरूप यो कार्यक्रम अघि बढाइएको बताउनुभयो। “रेन्वो ट्राउट पालन सफल भएमा आँबुखैरेनीलाई मत्स्यपालनमा आत्मनिर्भर बनाउनुका साथै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास लिएका छौँ,” अध्यक्ष चुमानले भन्नुभयो।
स्थानीय स्रोत–साधनको उपयोग गर्दै कृषिमा विविधीकरण गर्न गाउँपालिकाले विभिन्न सम्भावनाको अध्ययन गरिरहेको गाउँपालिकाले जनाएको छ। परीक्षणको नतिजा सकारात्मक आएमा आगामी दिनमा थप किसानलाई समेत यस व्यवसायमा आवद्ध गराइने योजना रहेको छ।