Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आँबुखैरेनी गाउँपालिकाद्वारा शतप्रतिशत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन

आँबुखैरेनी गाउँपालिकाद्वारा शतप्रतिशत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन

इच्छाकामना न्युज

२४, माघ २०८२
आँबुखैरेनी गाउँपालिकाद्वारा शतप्रतिशत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन
आँबुखैरेनी (तनहुँ), २४ माघ – आँबुखैरेनी गाउँपालिकाले पशुहरूमा लाग्ने गम्भीर प्रकृतिका रोग तथा आकस्मिक क्षतिबाट कृषकलाई राहत उपलब्ध गराउने उद्देश्यले शतप्रतिशत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। कृषकको जीविकोपार्जन तथा आम्दानीको मुख्य स्रोतका रूपमा रहेका पशुधनको संरक्षण र प्रोत्साहन गर्ने लक्ष्यसहित गाउँपालिकाले उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो।
गाउँपालिकाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा वडा नं. ४ का १८ जना कृषकलाई रु. २,९६,७००, वडा नं. ५ का ७ जना कृषकलाई रु. १,५०,३०० तथा वडा नं. ६ का १७ जना कृषकलाई रु. २,६५,५०० गरी जम्मा रु. ७,१२,५०० पशु बीमा बापतको रकम वितरण गरिएको थियो। उक्त रकम वडा नं. ३, ४ र ५ मा युनाइटेड अजोड इन्स्योरेन्स तथा वडा नं. ६ मा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमार्फत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
यस्तै, चालु आर्थिक वर्ष २०८२/०८३ को श्रावण महिनादेखि हालसम्म विभिन्न वडाका कृषकलाई रु. ३,१३,५०० बराबरको पशु बीमा रकम वितरण गरिएको छ। यस अन्तर्गत वडा नं. ३, ४, ५ र ६ का १३ जना कृषकले भैँसी, गाई, गोरु तथा बाख्राको बीमा दाबी बापत राहत रकम प्राप्त गरेका छन्।
पशु बीमा कार्यक्रम अन्तर्गत लाग्ने प्रिमियम शुल्कमध्ये ८० प्रतिशत नेपाल सरकारले व्यहोर्ने व्यवस्था रहेको छ भने बाँकी २० प्रतिशत रकम कृषकको सट्टा गाउँपालिकाले नै व्यवस्थापन गर्दै आएको छ। यसका कारण कार्यक्रम शतप्रतिशत निःशुल्क रूपमा सञ्चालन भइरहेको गाउँपालिकाले स्पष्ट पारेको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले पशुधन कृषकको आम्दानीको मुख्य आधार भएकाले समयमै पशु बीमा गरी आकस्मिक क्षतिबाट राहत लिन सम्पूर्ण कृषकलाई आग्रह गर्नुभएको छ। उहाँले आगामी दिनमा पनि कृषकको हितमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभयो।

images
प्रकाशित मिति :माघ २४, २०८२ शनिवार - ०९:५२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology