Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन-आँबुखैरेनी खण्डमा मर्स्याङ्दी पारि समानान्तर सडक निर्माण तयारी

मुग्लिन-आँबुखैरेनी खण्डमा मर्स्याङ्दी पारि समानान्तर सडक निर्माण तयारी

इच्छाकामना न्युज

३०, पौष २०८२
मुग्लिन-आँबुखैरेनी खण्डमा मर्स्याङ्दी पारि समानान्तर सडक निर्माण तयारी
images

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-आँबुखैरेनी सडक खण्डमा मर्स्याङ्‍दी नदी पारि नयाँ सडक निर्माण गरिँदैछ ।

images
images

मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत आँबुखैरेनी-पोखरा खण्डमा निर्माणको काम अन्तिम चरणतर्फ पुगेको छ । मुग्लिन-आँबुखैरेनी खण्ड अन्तर्गत कुल ९.३८४ किलोमिटर सडकको काम भने अब सुरु गर्ने तयारी छ ।

यस खण्डमा मर्स्याङ्‍दी नदी पारिपट्टि गोरखा जिल्लामा कुल ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गर्न लागिएको छ ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको रेखांकन गरी सडक सीमा तोक्ने निर्णय मन्त्रिपरिषदबाट भएको जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) मर्स्याङ्दी नदीको बाँया किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारिपट्टिसम्म थप सडकको रेखांकन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो सडकको केन्द्र रेखादेखि दायाँबाँया १५/१५ मिटर गरी जम्मा ३० मिटर सडक सीमा तोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । गत असोजमा मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।

यससँगै यस सडक खण्डमा नयाँ सडक बनाउन बाटो खुलेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । उनका अनुसार यस खण्डमा समेत एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक निर्माण तथा विस्तारको काम हुनेछ । यो आयोजना सुरुवात मुग्लिनस्थित नारायणगढ चोकमा पर्छ । यहाँबाट सुरु भई तनहुँ आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ ।

आयोजनाका अनुसार अहिले चालु अवस्थामा रहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फी) बनाइने छ । मर्स्याङ्‍दी पारि भने दुई लेन एकतर्फी बाटो बनाइने भएको छ ।

त्रिशूली र मर्स्याङ्‍दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्ने छ । यो आयोजनाले गोरखा जिल्लाको सहिद लखन गाउँपालिकालाई छुने छ । आयोजनाको कुल लागत ३ अर्ब ९७ करोड ४७ लाख २१ हजार बराबर छ ।

पृथ्वी राजमार्गमा रहेको मर्स्याङ्‍दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडकमा विस्तार गर्न असम्भव भएसँगै यो आयोजनाका लागि मर्स्याङ्‍दी पारि नयाँ लेन बनाउन लागिएको आयोजनाले जनाएको छ ।

साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन रहेको तर गोरखातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति पुर्‍याउन नपर्ने भन्दै नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ ।

यसले गोरखातर्फको ग्रामीण बस्तीलाई सहरमा परिणत गर्ने र त्यसले यातायात सुविधा, स्थानीय बजार–पसल र लघु उद्यममा सहयोग पुग्ने आयोजनाको भनाइ छ ।

मुग्लिनमा त्रिशूली नदीमाथि एउटा १ सय २० मिटर लामो पुल र मर्स्याङ्‍दी नदीमाथि बन्ने १ सय २५ मिटर लामो पुलले साविकको मुग्लिङबाट आँबुखैरेनी सडक जोड्ने छ ।

१३.३६ हेक्टर जमिन प्रयोग हुने, ३.८४ हेक्टर जमिन निजी

यो आयोजनाले कुल १३.३६ हेक्टर जमिन प्रयोग गर्ने भएको छ । जसमध्ये ९.५२ सरकारी वन क्षेत्र र ३.८४ हेक्टर निजी जमिन पर्छ । सडक निर्माणका दौरान १ सय ५३ बिजुली र टेलिफोनका पोल तथा ५ वटा ट्रान्स्फर्मरमा बाधा पुग्ने भएको छ ।

यसबीच २ सय २७ निजी र ११ सामुदायिक संरचना अधिग्रहण गर्नुपर्ने समेत आयोजनाले जनाएको छ । यस आयोजनका लागि कुल २ हजार रुख काट्नुपर्ने र ४ वटा मन्दिर स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।

images
प्रकाशित मिति :पौष ३०, २०८२ बुधवार - ०९:१४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology