Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बालीघरे प्रथामै चित्त बुझाउँदै ठाकुर

बालीघरे प्रथामै चित्त बुझाउँदै ठाकुर

इच्छाकामना न्युज

१२, पौष २०८२
बालीघरे प्रथामै चित्त बुझाउँदै ठाकुर
images

जयकृष्ण यादव, इनरुवा  । भोक्राहानरसिंह गाउँपालिका–७ का ६६ वर्षीय शिवचरण ठाकुरले आफ्नो बाबुबाजेको कपाल काट्ने पुख्र्याैली पेसा धान्दै विगतको जस्तै बालीघरे प्रथाको संस्कृति जोगाउँदै आउनुभएको छ । उहाँले नरसिंह र इनरुवा नगरपालिका–९, बबियाका दुई वटा गाउँमा कापल काट्दै आउनुभएको छ । 

images
images

ठाकुरले कपाल काटेबापत वर्षमा दुई पटक धान र गहुँ मात्रै लिनुहुन्छ । उहाँले आफ्नो पुर्खाको पेसा र प्रथा धान्नुका साथै समुदायसँग मित्रवत् व्यवहारका लागि पनि बालीघरे प्रथामै चित्त बुझाउँदै आएको बताउनुभयो । अरू किसानले वर्षको एक बिघामा ४० देखि ८० मन अन्न उत्पादन गर्दै आएकामा आफूले कपाल काटेरै वर्षको ८० मनसम्म धान र गहुँ ज्याला उठाउँदै आएको उहाँ बताउनुहुन्छ । आफ्नो जाति ठाकुर (हजाम) ले विगतदेखि नै कपाल काट्दै आएको र त्यसबापत अनाज लिने पुख्र्यौली संस्कृति आफूले धानेको उहाँले बताउनुभयो । आफ्नो एक छोरा काठमाडौँमा सैलुन खोलेर बसेको उहाँले बताउनुभयो ।

सोही ठाउँका राम ठाकुरले पनि बालीघरे प्रथामै चित्त बुझाउनुभएको छ । आफूहरूको दिनचर्या र जीविकोपार्जनको आधार नै कपाल काट्ने पेसा भएकाले बालीघरेसँगै साप्ताहिक हाट र केहीले पसल खोलेरसमेत सेवा गर्दै आएको ठाकुरले बताउनुभयो । 

त्यसै गरी इनरुवा–९ का फुदन ठाकुर पनि बालीघरे प्रथामै रमाएको र त्यसबाट केही कमाएको बताउनुहुन्छ । कोशी गाउँपालिका–२, पश्चिम कुसाहाका सुकदेव ठाकुर पनि कपाल काटेबापत गहुँ र धान लिनुहुन्छ । उहाँले कामको पारिश्रमिकबापत एक जनाको कपाल काटेबापत वार्षिक रूपमा एक मन अन्न लिने गर्नुहुन्छ । सदिऔँदेखि चलिआएको बालीघरे प्रथा निर्मूल हुन नसक्दा आफूहरूले काम गरेबापतको मूल्य भने नपाएको उहाँको गुनासो छ । बालीघरे प्रथा अनुसार उनीहरू परिवारबाट भिन्न हुँदा ग्राहकको पनि अंशबन्डा गर्ने गर्छन् । 

images
प्रकाशित मिति :पौष १२, २०८२ शनिवार - ०९:३९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology