Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुस्ताङको घमीमा सामूहिक स्याउ खेती

मुस्ताङको घमीमा सामूहिक स्याउ खेती

इच्छाकामना न्युज

१२, पौष २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउ खेती
images

मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत छ वर्षदेखि सामूहिक स्याउ खेती गरिएको हो ।

images
images

कृषिमा स्थानीय नागरिकको सामूहिक पहुँच स्थापित गर्ने उद्देश्यले विसं २०७६ सालदेखि यहाँको घमी गाउँमा ४९ घरधुरीले घमी सामुदायिक स्याउ फर्म स्थापना गरी सामूहिक स्याउ सुरु गरेका हुन् ।

यसअघि माथिल्लो मुस्ताङमा आंशिक मात्रामा स्याउ खेती गरिने गरिन्थ्यो । पछिल्लो समय जलवायु परिवर्तनका कारण यहाँको जमिनको तापमान वृद्धि भइरहेकाले स्याउ खेतीले बिस्तारै माथिल्लो क्षेत्रको उचाइमा बस्ती सार्दै जान थालेको छ । जलवायु परिवर्तनले स्याउ खेतीले उकालो चढ्दै जान थालेको र घमी गाउँमा भविष्यमा स्याउ खेतीको प्रचुर सम्भावना देखिएकाले त्यहाँस्थित घमी गाउँका घरधुरीले सामूहिक स्याउ खेतीलाई प्राथमिकता दिएका हुन् ।

यहाँस्थित घमी गाउँमा स्थानीय घरधुरीले आफ्नो लालपुर्जावाला जग्गालाई सामुदायिक स्याउ खेती गर्ने गरी करिब ८०० रोपनीभन्दा बढी जग्गामा सामूहिक स्याउ खेती गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । अध्यक्ष विष्टका अनुसार गाउँमा जग्गा भएका र जग्गा नभएका भूमिहीन किसानलाई कृषिमा समान पहुँच स्थापित गर्ने गरी घमी सामुदायिक स्याउ फार्म स्थापना गरिएको बताए । फार्ममा १२ हजारभन्दा बढी स्थानीय लोकल जातका स्याउ बिरुवा र ६०० भन्दाबढी उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउका बिरुवा रोपण गरिएको उनले बताए ।

राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकमार्ग नजिकै रहेको घमी सामुदायिक स्याउ फार्म ६ वर्षअघि दुई तिहाइ जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो । पर्याप्त मात्रामा खेतीयोग्य जग्गा रहेको घमी गाउँमा स्थानीय युवा वैदेशिक रोजगारका लागि विदेश जान थालेपछि त्यहाँका खेती योग्य जग्गाजमिन बाँझो रहन पुगेको थियो । कृषि व्यवसायका माध्यमबाट गाउँको आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित यहाँको घमी गाउँमा वृहत् रूपमा सामुदायिक घमी स्याउ फार्म सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ ।

यहाँको घमी गाउँमा स्थापना गरिएको सामुदायिक स्याउ फार्ममा गत वर्षदेखि स्याउ बोटले उत्पादन दिन थालेका छन् । जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गरी स्याउको दीर्घकालीन भविष्य देखेर यहाँको स्याउ फार्मको अधिकांश जग्गामा रैथाने स्थानीय जातका स्याउ बिरुवा रोपण गरिएको गाउँपालिका अध्यक्ष विष्टले बताए । गत वर्ष यहाँस्थित सामुदायिक स्याउ फार्मको एक ब्लकमा ६०० यी बढी हाइब्रिड स्याउका बिरुवा रोपण गरिएको छ । यस वर्ष यहाँको फार्ममा फलेका स्याउ बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी भएको अध्यक्ष विष्टको भनाइ छ । ‘यहाँ स्याउका बिरुवा बर्षेनि विकसित हुँदै गइरहेको छ, भविष्यमा यहाँको फार्ममा ५०० मेट्रिकटन बढी स्याउ फलाउने लक्ष्य छ,’ अध्यक्ष विष्टले भने, ‘फार्ममा पूर्ण रूपमा स्याउले उत्पादन दिन थालेमा स्थानीय नागरिकको आम्दानीको स्रोत वृद्धि हुनेछ, हामीले जग्गा हुने र नहुने विपन्न वर्गलाई सामूहिक स्याउ खेती प्रणालीमा समेट्ने प्रयास गरेको हौँ ।’

यहाँस्थित मुस्ताङको घमी गाउँमा व्यक्तिको लालपुर्जा भएको जग्गालाई समेटेर जिल्लामै पहिलो सामूहिक सामुदायिक स्याउ फार्म स्थापना गरिएको हो । यहाँको स्याउ फार्ममा कसैको धेरै जग्गा, कसैको थोरै जग्गा छ भने कतिपयको जग्गासमेत छैन । तर, यहाँ जग्गा भएका र नभएका घमी गाउँका घरधुरीलाई समावेश गरी सामूहिक स्याउ खेती प्रणालीको अपधारणा अपनाइएको हो ।

सामुदायिक स्याउ खेती गर्दा लालपुर्जावाला घरधुरीले आफैँले स्याउ फार्मको व्यवस्थापन तथा रेखदेख गर्नुपर्दछ । तर, फार्मको भौतिक पूर्वाधारलगायतको कामकाँजमा फार्ममा आबद्ध भएका तर जग्गा नभएकाले पनि श्रमदान गर्नुपर्ने प्रावधान राखिएको छ ।

यहाँ स्याउ फार्ममा उत्पादन भएको स्याउ बिक्री गरेवापतको आम्दानी स्थानीय जग्गावाला घरधुरीले ७० प्रतिशत आफूले पाउने र आम्दानीको ३० प्रतिशत सामूहिक रूपमा सामुदायिक स्याउ फार्मको कोष (बास्केट)फ्रन्टमा राख्नुपर्ने हुन्छ । यसरी बास्केट फ्रन्टमा संकलन भएको आम्दानी बचत फार्ममा आबद्ध सबै घरधुरीले समान रूपमा भाग लगाएर वितरण गरिने नियम राखिएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए ।

यसअघि पहिलो घरायसी प्रयोजनका लागि मात्रै स्याउ खेती गरिने गरिएकोमा पछिल्लो समय घमी गाउँमा व्यावसायिक स्याउ खेती गरिएको जनाइएको छ ।

जिल्लाकै नमुनाका रूपमा स्थापित भएको घमी सामुदायिक स्याउ फार्मलाई स्थानीय सरकार, प्रदेश सरकार र जिल्लास्थित पशु विकास कार्यालयले अनुदान सहयोग पुर्‍याएका छन् । घमी सामुदायिक स्याउ फार्मका लागि पर्खाल निर्माण गर्न, सिँचाइको पहुँच पुर्‍याउन । स्याउ खेतीको व्यवस्थापन गर्न सरकारी निकायबाट अनुदान सहयोग प्राप्त भएको अध्यक्ष विष्टको भनाइ छ ।

एक दशकअघि घमी गाउँका स्थानीयले हालको स्याउ फार्म रहेको जग्गामा आंशिक रूपमा उवा, जौँ र फापर खेती गर्ने गरिएको र त्यहाँको अधिकांश जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो । तर, पछिल्लो समय यहाँको घमी गाउँस्थित स्याउ फार्ममा लटरम्म स्याउ फल्न थालेपछि स्थानीय नागरिक दङ्ग परेका छन् । घमी गाउँमा यहाँको शितोषण बागवानी विकास केन्द्रले स्याटलाइट कृषि फार्म स्थापना गर्ने तयारी गरिएकाले यहाँका नागरिकलाई स्याउ खेतीको विकास र प्रवर्द्धनमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

images
प्रकाशित मिति :पौष १२, २०८२ शनिवार - ०९:३८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology