आँबुखैरेनी (तनहुँ), २ कात्तिक । महाभारत पर्वत श्रृङ्खलाको उच्च भाग २१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको समग्र विकासका लागि आगामी कात्तिक ८ गतेदेखि १५ गतेसम्म आयोजना हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारीबारे जानकारी दिन आज पत्रकार सम्मेलन हुने भएको छ।
महायज्ञ मूल समारोह समिति, छिम्केश्वरी पर्यटन विकास समिति, मन्दिर संरक्षण समिति र आँबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा आयोजना हुन लागेको महायज्ञको उद्देश्य र तयारीबारे जानकारी दिन कात्तिक २ गते (आज) दिउँसो १ बजे आँबुखैरेनी हाटबजारस्थित महायज्ञ स्थलमा पत्रकार सम्मेलन गरिने महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङले जानकारी दिनुभयो।
संयोजक तामाङका अनुसार महायज्ञको प्रचार–प्रसार, महायज्ञ स्थल निर्माण, ध्वनि प्रविधि (साउण्ड सिस्टम) व्यवस्थापन, चिठीपत्राचार लगायतका तयारी अन्तिम चरणमा पुगेका छन्। विविध उप–समितिहरू गठन गरी तयारीलाई थप सघन बनाइएको समितिले जनाएको छ।
महायज्ञबाट १० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ भने करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महायज्ञले धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने आयोजक समितिको विश्वास छ।