मुग्लिङ । नेकपा एमाले इच्छाकामना गाउँकमिटिले दीप प्रज्वलन गरेर संविधान दिवस मनाएको छ । एमालेले आज शुक्रबार मुग्लिङ बजार चोकमा दीप प्रज्वलन गरेर ११ औं संविधान दिवस मनाएको हो ।
दीप प्रज्वलन कार्यक्रम भन्दा पहिले अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य, पूर्वमन्त्री एवं प्रदेश सांसद कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णप्रसाद सिलवालले संविधानको संरक्षण गर्नका लागि सबै लागिपर्नुपर्ने बताउनुभयो । उहाँले सम्बोधनकै क्रममा जेनजीको नाममा युवाहरुले गरेको आन्दोलनमा घुसपैठ गरेर राज्यको सम्पत्ति जलाउने जस्तो आपराधिक कार्य गर्नेहरुलाई तत्काल कानुनी कारबाही गर्न जोडदार माग गर्नुभयो । साथै उहाँले २३ गते आन्दोलनको क्रममा गोली लागेर युवाहरुको मृत्यु भएको घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । अन्यथा त्यस्ता आपराधिक जथ्थालाई खोजी खोजी कारबाही गर्न एमाले तयार रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले चितवनको जिल्ला सदस्य एवं इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, नेकपा एमाले चितवन जिल्ला सदस्य ज्ञानुदेवी पाण्डे, इच्छाकामना वडा नं. ४ का वडाध्यक्ष एवं जिल्ला सदस्य रुद्र उप्रेती, जिल्ला सदस्य चन्द्रमणी सापकोटा, जिल्ला लेखा समितिका कुमार श्रेष्ठ, जिल्ला सल्लाहकार सदस्य किसोर गुरुङ लगायत एमाले जिल्ला तथा स्थानीय तहका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।