Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पूर्वराष्ट्रपति भण्डारीको आबद्धता विधान अधिवेशनले टुङ्ग्याउने

पूर्वराष्ट्रपति भण्डारीको आबद्धता विधान अधिवेशनले टुङ्ग्याउने

इच्छाकामना न्युज

३, भाद्र २०८२
पूर्वराष्ट्रपति भण्डारीको आबद्धता विधान अधिवेशनले टुङ्ग्याउने
images

चितवन, भदौ ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिको विषयमा विधान अधिवेशनले थप प्रस्ट पार्ने बताउनुभएको छ ।

images
images

नेकपा (एमाले) जिल्ला कमिटी चितवनको बैठकलाई सम्बोधन गर्दै उहाँले केन्द्रीय कमिटीको बैठकले सम्मानित पदमा बसेको व्यक्ति राजनीतिमा सक्रिय हुनु हुँदैन भनेर प्रस्ट पारिसकेकाले अब विधान अधिवेशनमा थप छलफल हुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “देशको सर्वोच्च पदमा बसेको हुँदा राजनीतिमा आउनु राम्रो हुँदैन भनेर निर्णय भएको छ तर विधान अधिवेशनलाई उल्ट्याउन पनि सक्ने अधिकार रहेकाले अधिवेशनसम्म कुर्नुपर्ने हुन्छ ।” बैठकमा सम्बोधन गर्दै उहाँले राष्ट्रको सम्मानित व्यक्तिलाई संविधानले नै पार्टी राजनीति गर्न नपाउने गरी प्रस्ट व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

दोस्रो तहका नेताले नेतृत्व लिन नेतृत्व विकास गरी अगाडि बढ्नु पर्दछ, उहाँले भन्नुभयो, “त्यसो गर्दा कोही पनि विवादित बन्नु पर्दैन ।” उहाँले एमालेको नेतृत्वको सरकारले राम्रो काम गरेको देखेर विपक्षीले आलोचना गरेको भन्नुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ को परिकल्पनाकार केपी ओलीको नेतृत्वमा रहेको सरकारले सुशासन र विकासको गति लिएको उहाँको भनाइ थियो । आलोचना गर्नेको पछाडि नलागी पार्टी र जनताको काममा लाग्न कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

कार्यव्रmममा स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले विधान अधिवेशनले एमालेलाई थप मजबुत पारेर लैजाने बताउनुभयो । “पूर्वराष्ट्रपतिलाई हामी सम्मान गर्दछौँ, उहाँ देशको अभिभावक हो, उहाँलाई त्यही स्थानमा राख्न चाहेका छौँ,” अधिकारीले भन्नुभयो, “पार्टी राजनीतिमा आउन मिल्ने÷नमिल्ने विषय अधिवेशनले टुङ्गो लगाउँछ ।” उहाँले नेकपा (एमाले) देशको निर्णायक राष्ट्रिय शक्ति बनाउने कार्यमा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले तल्लो तहका कार्यकर्तालाई बुझ्न नसक्दा क्षमताको पहिचान हुन सकेको छैन । एउटै व्यक्ति पटक पटक मन्त्री बन्ने तर काम नगर्ने प्रवृत्तिले पनि जनतामा निराशा छाइरहेको छ । त्यस्तो अवस्था हाम्रो पार्टीमा पनि रहेको छ । त्यसको निसाना एमाले बनिरहेको छ ।” पार्टीमा भएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नका लागि पनि विधान अधिवेशन महìवपूर्ण भएको उहाँको भनाइ छ ।

कार्यक्रममा केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले सरकारले गरेका राम्रा कामको प्रचार जनस्तरमा लैजान नसक्दा पार्टीमाथि आलोचना भइराखेको बताउनुभयो । भदौ २२ देखि २४ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान अधिवेशनमा समेट्नुपर्ने विषय बँुदागत रूपमा टिपोट गरिएको छ । पार्टीमा ७० वर्षे उमेर हदको विषयमा अहिले योग्यता र क्षमताको विषयलाई हेरेर कायम गर्न नहुनेमा सबैको सुझाव रहेको थियो तर उमेर हद हटाएर बाँचुन्जेल नेतृत्व गर्न पाउने व्यवस्था राख्न नहुनेमा सहभागीले सुझाव दिएका थिए । विधान अधिवेशनले ७५ वर्ष वा ८० वर्ष निश्चित उमेरसम्म मात्र पार्टी नेतृत्वमा बस्न पाउने गरी विधानमा उल्लेख गर्न चितवन जिल्ला कमिटीले सुझाव दिएको छ ।

एमाले चितवनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा भएको कार्यव्रmममा बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, प्रभा पौडेल, यमबहादुर परियार, कपिल पोखरेल, केन्द्रीय सल्लाहकार हरि सापकोटा, डा. तिलचन्द्र भट्टराई, भूमि विभागका केन्द्रीय सचिव विजय सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियो ।

images
प्रकाशित मिति :भाद्र ३, २०८२ मंगलवार - ०९:०८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology