धादिङ । धादिङ जिल्लाकी साहसी युवती तथा मोटाभ्लगर (Moto Vlogger) सुष्मिता अधिकारीले विश्वकै सबैभन्दा उचाइमा रहेको सडक मार्ग, उमलिङ ला पास (Umling La Pass – १९,०२४ फिट) मा मोटरसाइकल यात्रा सफलतापूर्वक सम्पन्न गरेकी छन्।
भारतको लद्दाख क्षेत्रमा अवस्थित यस पासलाई “विश्वकै सर्वोच्च मोटरेबल पास” भनेर चिनिन्छ। उक्त साहसी यात्राको क्रममा सुष्मिताले नेपाली झण्डा फहराउँदै, “धादिङको मात्र होइन, सम्पूर्ण नेपालको नाम उज्यालो बनाउने संकल्प” रहेको बताइन्। उनका अनुसार यो यात्रा केवल रोमाञ्चक मात्र नभई नेपाली युवापुस्ताको क्षमतालाई विश्वसामु देखाउने अवसर पनि हो।
असाध्यै कठिन र चुनौतीपूर्ण यात्रामा उनले उचाइको पातलो हावा, कडा मौसम र अप्ठ्यारो बाटोको सामना गरेकी थिइन्। यद्यपि, उनको अटल हिम्मत र आत्मविश्वासले यात्रा सफल भयो। मोटाभ्लगिङमार्फत आफ्ना अनुभवहरू सार्वजनिक गर्दै आएकी सुष्मिता अधिकारी मोटरसाइकल यात्रामा सक्रिय युवतीहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेकी छन्।
महिलाहरूले पनि साहसी निर्णय लिई वैश्विक स्तरमा आफुलाई प्रमाणित गर्न सक्ने सन्देश उनले यस यात्रामार्फत दिएकी छन्। नेपालमा युवाहरूले नयाँ क्षेत्रमा हात हालेर अन्तर्राष्ट्रिय पहिचान बनाउन थालेको सन्दर्भमा, सुष्मिताको यो सफलता देशको गौरव हो।