आँबुखैरेनी (तनहुँ), श्रावण २७ – लामो समयदेखि पहिचानविहीन जीवन बिताउँदै आएकी तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीया दुर्गा ठकुरीले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।
गाउँपालिकाको विशेष पहलमा सोमबार आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेर उनलाई नागरिकता प्रदान गरिएको हो। दुर्गा ठकुरीलाई गाउँपालिका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर नागरिकता दिलाइएको वडाध्यक्ष दिनेेश केसीले जानकारी दिए।
“७० वर्षअघि आँबुखैरेनी आउनुभएकी उहाँको परिवार र वंशजबारे कसैलाई थाहा थिएन। सबैले दुर्गा ठकुरी भनेर चिन्थे। नागरिकता नभएपछि पहिचानविहीन हुनु भएको थियो। हामीले प्रक्रिया पूरा गरी नागरिकता दिलाएका हौं,”
– दिनेेश केसी, वडाध्यक्ष
ठकुरीले विगत ४० वर्षदेखि आँबुखैरेनीस्थित सिङ्गापुरे लाहुरे भनेर चिनिने घरमा एक्लै बस्दै आएकी थिइन्। बाबुआमा वा अन्य पारिवारिक विवरण नखुलेकी ठकुरीलाई राज्यले बल्ल औपचारिक पहिचान दिएको हो।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, सम्बन्धित निकायहरूबाट आवश्यक प्रमाण र विवरण संकलन गरि सबै प्रक्रिया पुरा गरेर उनलाई नागरिकता प्रदान गरिएको हो।
यो घटनाले वर्षौंसम्म राज्यको पहिचान प्रणालीबाट बञ्चित व्यक्तिहरूलाई सहजीकरण गरेर समावेश गर्न सकिने सम्भावनालाई बलियो सन्देश दिएको छ।