नारायणगढ । विद्यालय बिदाको दिनका रुपमा रहेको शनिबार नारायणगढका स्कूले विद्यार्थीका लागि भने चित्र कोर्ने र रंग भर्ने ‘बार’ बनेको छ।
छुट्टीको दिन अर्थात शनिबार। स्कूले विद्यार्थी त शनिबार कहिले आउला भनेर कुरिबसेका हुन्छन्। किनकि, बिहानै तयार भएर स्कूल पुग्न हतारो हुँदैन।
तर, भरतपुर महानगरपालिका-१, प्रगति पथका आयान श्रेष्ठलाई भने शनिबार झन् हतारो हुन्छ। भरतपुरको आँटपारीस्थित स्मल हेभन स्कूलमा कक्षा १० मा अध्ययनरत आयान हरेक शनिबार बिहान हतारिँदै नारायणगढस्थित नारायणी कला मन्दिर पुग्छन्। उनका लागि शनिबारको बिहानी विशेष हुन्छ, चित्रकलामा आनन्दले रमाउन पाउँछन्।
चित्र कोर्न र रङ्ग भर्न असाध्यै मन पर्ने गरेको उनी सुनाउँछन्। “पहिले सानो कक्षामा हुँदा तीन हप्ताको फरकमा आर्ट क्लास हुन्थ्यो। त्यसमा सहभागी हुन्थें, अहिले ठूलो कक्षामा आर्ट क्लास हुँदैन,” आयान भन्छन्, “स्कूलमा नहुने भएपछि शनिबार नारायणी कला मन्दिर पुग्छु।”
.jpg)
घर नजिकै छ, नारायणी कला मन्दिर। जहाँ शनिबार स्कूले विद्यार्थीका लागि नियमित चित्रकलाका कक्षा हुन्छन्। उनी पनि नियमित विद्यार्थी बनेका छन्। पछिल्लो एक वर्षदेखि चित्रमा पानी रंग भर्न सिकिरहेको बताउँदै उनी भन्छन्, “घरमा मोबाइल हेरेर पनि चित्र बनाइरहेको हुन्छ। कक्षामा प्रत्यक्ष सहयोग र सुझावले चित्र राम्रो बनाउन सिक्दै छु।”
कक्षा ३ मा अध्ययनरत आस्मिका भट्ट पनि शनिबार आयो कि बिहानै नारायणी कला मन्दिर जान तयार हुन्छिन्। भरतपुर महानगरपालिका-३ की ६ वर्षीया आस्मिकालाई उनकी आमा कल्पना भट्ट हरेश शनिबार नारायणी कला मन्दिर पुर्याउँछिन्, जहाँ उनी रमाउँछिन्।
चित्र बनाउन रुचाउँने आस्मिका घरमा बस्दा पनि घर, मान्छे, फूलको चित्र कोर्ने गरेको आमा कल्पना सुनाउँछिन्। त्यसैले छोरीलाई चित्रकला कक्षामा लैजाने गरेकी उनी बताउँछिन्। “कलर लगाउने बूकहरू किनेर दिने गरेको छु,” आमा कल्पना भन्छिन्, “छोरीले आर्ट क्लासमा लगिदिनु भन्ने गरेपछि ल्याउन थालेको छु।”
.jpg)
नारायणी कला मन्दिरमा शनिबार नियमित चित्रकला कक्षा हुन्छ। जहाँ विद्यार्थीलाई निःशुल्क चित्र कोर्न र रंग भर्न सिकाइन्छ। चित्रकला सिक्न हरेक शनिबार विद्यार्थीको घुइँचो लाग्छ। स्कूले विद्यार्थी टाढा-टाढाबाट पनि आउने गर्छन्। छोरीलाई चित्रकला कक्षामा लग्नुको कारण खुलाउँदै कल्पना भन्छिन्, “चित्र कोर्ने कलाले पढाइमा पनि सहयोग पुग्ने गरेको छ।”
तीन वर्षदेखि निःशुल्क कक्षा
नारायणगढमा छ, नारायणी कला मन्दिर। कला, साहित्य र संगीतको धरोहर कला मन्दिर २०१९ सालमा स्थापना भएको हो। यसले कला, साहित्य र संगीत सम्बन्धी गतिविधि सञ्चालन गर्दै आइरहेको छ।
यही कला मन्दिरमा हुन्छ, स्कूले विद्यार्थीका लागि चित्रकला कक्षा। चितवन र नवलपरासीलाई कार्यक्षेत्र बनाएका चित्रकारहरूको पहलमा तीन वर्षदेखि नियमित कक्षा सञ्चालन भइरहेको छ। यस क्षेत्रका चित्रकारले चलाइरहेको निःशुल्क चित्रकला प्रशिक्षण कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ र नारायणी कला मन्दिर पनि जोडिएका छन्।
.jpg)
चित्रकला कक्षा लायन जीतबहादुर पिया व्यवसायिक तालिम केन्द्र मार्फत सञ्चालन हुने गरेको छ। हरेक शनिबार बिहान ८ देखि १० बजेसम्म कक्षा चल्ने गरेको चित्रकार वरुणबाबु घिमिरे बताउँछन्। उनका अनुसार, चित्रकला कक्षाका लागि नारायणी कला मन्दिरले स्थान उपलब्ध गराएको छ भने लायन्स क्लबले आवश्यक सामग्री जुटाइदिएको छ।
चित्रकलामा केही नयाँ र योगदान गर्ने सोचकै नतिजा स्वरुप चित्रकला कक्षा सञ्चालन गरिएको घिमिरे बताउँछन्। “हामी यहीं बसेर चित्रकलालाई व्यावसायिक रुपमा अघि बढाएका छौं। चित्रकलाको विकासमा हाम्रो अरु योगदान केही हुनसक्छ कि भनेर सल्लाह गर्दा चित्रकला कक्षा सञ्चालन गर्ने योजना बनेको हो,” चित्रकार घिमिरे भन्छन्, “चित्रकला कक्षामा विद्यार्थी आउँछन्, सिक्छन्। अहिलेसम्म राम्रै भइरहेको छ।”
चित्रकला प्रशिक्षण कार्यक्रम शुरू गर्दा सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरिएको थियो। नारायणगढ र गैंडाकोट क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा चित्रकला प्रतियोगिता गरेर छानिएका विद्यार्थीलाई सहभागी गराएर कक्षा चलाइँदै आएको थियो।
.jpg)
कक्षामा जति विद्यार्थी सहभागि भए, तिभन्दा धेरै विद्यार्थीलाई सिकाउन सकिने सम्भावना देखिएपछि सबै विद्यालयका विद्यार्थी सहभागी गराउन थालिएको घिमिरे बताउँछन्। त्यसयता नियमित विद्यार्थी बढ्दै गए। अभिभावकले पनि बालबालिकालाई ल्याउन थाले। जसले अहिलेसम्म नियमित कक्षा सञ्चालन भइरहेका छन्। “साउन १४ मा ठ्याक्कै तीन वर्ष पुग्यो। अहिलेसम्म एक साता मात्रै कक्षा रोकिएको छ। अरु हरेक शनिबार कक्षा चलेका छन्,” विद्यार्थीको उत्साहले निरन्तरता दिन दबाब परेको बताउँदै उनी भन्छन्, “त्यस दिन पनि ठूलो पानी परेर घर बाहिर निस्कन नसक्दा कक्षा रोकिएको थियो।”
हाल हरेक साता १५० भन्दा बढी विद्यार्थी चित्रकला कक्षामा सहभागी हुने गरेका छन्। नवलपरासी (सुस्ता पूर्व) को गैंडाकोट, चितवनको नारायणगढ, चनौली, टाँडी लगायतका ठाउँबाट पनि विद्यार्थी आउने गरेको उनी बताउँछन्। चित्रकार घिमिरेसँगै रमेश कँडेल, सन्तोष श्रेष्ठ र मुकेश चौधरीले विद्यार्थीलाई चित्र कोर्न सिकाउँछन्।
खुशी हुने अभ्यास
चित्रकला कक्षामा आउने विद्यार्थीलाई चार समूहमा बाँडेर चित्र कोर्न सिकाउने गरिएको छ। साना विद्यार्थी र ठूला विद्यार्थीलाई फरक फरक समूहमा राख्ने गरिएको छ। विद्यार्थीको चित्र कोर्ने क्षमता अनुसार समूह विभाजन गर्ने गरिएको घिमिर बताउँछन्।
.jpg)
साना र भर्खर सिक्दै गरेका विद्यार्थीलाई लाइन कोर्न, अक्षर र नम्बरबाट चित्र बनाउन सिकाउने गरिएको छ। ठूला विद्यार्थीलाई प्रत्येक साता कुनै एक चित्र बनाउन र रंग भर्न सिकाइन्छ।
त्यस्तै, ठूला कक्षामा पढ्ने विद्यार्थीमध्ये पनि अलि चित्र बनाउन सक्नेलाई ‘लाइभ’ हेरेर चित्र बनाउने समूहमा राखिन्छ। उनीहरू प्रत्यक्ष हेरेर चित्र कोर्छन्। त्यही अनुसार सिकाउने गरिन्छ।
अर्को समूहमा रहेका विद्यार्थी चित्र कार्न जानिसकेका हुन्छन्। उनीहरूले कोरेको चित्रमा पानी रंग भर्ने अभ्यास गराइन्छ।
चारै समूहमा रहेका विद्यार्थीले रुचि र दक्षता अनुसार चित्र कोर्ने र रंग पर्ने गर्दै जान्छन्। उनीहरूलाई त्यसैअनुसार थप सीप सिकाउने गरिएको छ।
.jpg)
‘लाइभ’ हेरेर चित्र कोर्ने समूहमा रहेकी भरतपुर-२, भानुमार्गकी सुनिता रामदामले कक्षा धाउन थालेको तीन वर्ष भयो। बालकुमारी इंलिस स्कूलमा कक्षा ८ मा पढ्दादेखि नै उनी चित्रकला कक्षामा आउन थालेकी हुन्। अहिले चितवन बोर्डिङ स्कूलमा कक्षा ११ मा अध्ययनरत सुनिता अहिले पानी रंग भर्न सिकिरहेको सुनाउँछिन्।
चित्र बनाउन रमाईलो मान्ने गरेकी उनी यसले आफ्नो पढाइमा पनि सहयोग पुगेको बताउँछिन्। त्यसैले हरेक शनिबार चित्रकला कक्षा पुग्ने गरेको सुनाउँदै सुनिता भन्छिन्, “आर्ट क्लासमा आउनुअघि कोर्समा भएका हल्का चित्रहरू मात्र बनाउँथें। अहिले नियमित अभ्यासले सिक्दै छु। घरमा कहिलेकाँही वाटर कलरको पनि अभ्यास गर्न थालेकी छु।”
.jpg)
चित्रकला कक्षाले एकातिर बालबालिकालाई कला सिकाइरहेको छ भने अर्कातिर पढाइमा पनि सहयोग पुगेको छ। “पढ्दा, पाठहरू गर्नु पर्दा पनि चित्र बनाउनुपर्छ। यसले पढाइलाई राम्रो बनाउन पनि मद्दत गर्छ,” चित्रकार घिमिरे भन्छन्, “चित्र कोर्ने बानीले ‘ह्यान्ड राइटिङ’ पनि सुधार गर्छ।”
त्योभन्दा महत्त्वपूर्ण चित्रकला कक्षाले विद्यार्थीलाई खुशी बनाइरहेको छ। उनीहरू रमाइरहेका छन्। दुई घण्टा यसमै ध्यान केन्द्रित गर्छन्। चित्रकला कक्षा उनीहरूका लागि मेडिटेशन बनेको बताउँदै चित्रकार घिमिरे भन्छन्, “सबै कुरा भुलेर यसमै रमाउँदा चित्रकलाले विद्यार्थीलाई खुशी हुन पनि सिकाइरहेको छ।”