आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका–१ निवासी समाजसेवी सुजन नहर्कीले आँबूखैरेनी अस्पतालमा उपचाररत बिरामी तथा कुरुवाहरूको सुविधाका लागि १५ थान प्लास्टिक कुर्सी सहयोग गर्नुभएको छ। उक्त कुर्सीहरूको बजार मूल्य रु १७,२५० बराबर रहेको छ।
सहयोग हस्तान्तरण कार्यक्रम एक सादगीपूर्ण समारोहका बीच सम्पन्न गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डि.बि. क्षेत्री लगायत अस्पतालका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
समाजसेवी नहर्कीले यस सहयोगले अस्पतालमा सेवा लिने नागरिकहरूलाई सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिका अध्यक्ष चुमानले अस्पतालप्रतिको सहयोगको लागि उहाँप्रति धन्यवाद ज्ञापन गर्नुहुँदै अन्यलाई पनि यस्ता सामाजिक कार्यमा अग्रसर हुन आह्वान गर्नुभयो।