तनहुँ । लामो समयको खडेरी र तापक्रम वृद्धिले गर्दा तनहुँमा रोपाइँ प्रभावित भएको छ । यतिबेला रोपाइँ सम्पन्न भइसक्नु पर्नेमा २५ प्रतिशत बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
पानीको पहुँच पुगेको नदी तथा खोलाबाट सिञ्चित गैरी खेतमा रोपाइँ भए पनि यसवर्ष मुल फुट्ने गरी पानी नपर्दा टारी खेतमा रोपाइँ गर्न ढिलाई भएको केन्द्रका कृषि अर्थ विज्ञ सुरज ग्रैहेले जानकारी दिनुभयो । हाल सम्ममा ७४.५९ प्रतिशत मात्रै रोपाइँ भएको उहाँले बताउनुभयो ।
गैह्रेले भन्नुभयो, ‘‘पानी प्रशस्त परेको भए रोपाइँ पूरा भइसक्थ्यो, रोपाइँ गर्न नपाउने किसानको बिउ हुर्किएर समस्या भएको छ ।’’ धान खेतीका लागि जिल्लाको साँगेफाँट, चुँदीफाँट, कलेस्ती, तनहुँसुर, सेपाबगैचा, पुर्कोट, अत्रौली, आबुखैरेनी लगायतका ठाँउहरु प्रख्यात छन् । तनहुँमा सावित्री, मकवानपुरे, सुख्खा १, सुख्खा २ र आधुनिक जातहरु युएस ३१२ र च्यम्पियन हाईब्रिड जातका धान बढी लगाउने गरेको केन्द्रले जनाएको । केन्द्रका अनुसार जिल्लामा आठ हजार ७२० हेक्टर जमिन वर्षेधान खेती हुने गर्दछ । गत वर्ष आठ हजार ७२० हेक्टर जमिनमा धान लगाउँदा ३५ हजार ५२ मेट्रिक टन उत्पादन भएको थियो ।