गोरखा, २६ असोज
गोरखामा अब पशु बिमा निशुल्क हुने भएको छ। यसअघि पशुवस्तुको बिमा गर्दा रकम २५ प्रतिशत तिर्दै आएका किसानले अब भने निशुल्क बिमा गर्न पाउने भएका हुन्।
‘यो वर्ष बिमा बापत किसानले तिर्ने २५ प्रतिशत रकम हामीले तिरिदिन्छौँ’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख इन्द्रबहादुर भट्टले भन्नुभयो ‘बिमा शुल्कको ७५ प्रतिशत भने यसअघिदेखि नै नेपाल सरकार (संघीय सरकार)ले बिमा कम्पनीलाई भुक्तानी दिँदै आएको छ।’ ७५ प्रतिशत रकम संघीय सरकारले र २५ प्रतिशत प्रदेश सरकारले तिर्ने उहाँले स्पष्ट पार्नभयो ।
निशुल्क बिमा गर्न चाहने किसानको लागि प्यान नम्बर र बैंक खाता भने अनिवार्य गरिएको छ। ‘किसानले बिमा बापत तिरेको २५ प्रतिशत रकमको भौचर भेटेरिनरी कार्यालयमा बुझाउनुपर्छ’ कार्यालय प्रमुख भट्टले भन्नुभयो ‘त्यहाँ बुझाएको रकम हामीले किसानको खातामा पठाईदिन्छौँ।’ गण्डकी प्रदेश सरकारले यस वर्ष किसानको पशुवस्तुको बिमाका लागि ४२ लाख रुपैयाँ बिनियोजन गरेको छ।
‘आउँदो असारसम्म किसानले बिमा गर्दै रकम भुक्तानी दावी गर्न सक्नुहुन्छ’ कार्यालय प्रमुख भट्टले भन्नुभयो ‘फस्ट कम फस्ट सर्भिसको आधारमा जो पहिला बिमा गरेर आउनुहुन्छ उहाँहरुलाई सेवा दिँदै जान्छौँ।’
बिमा गर्नका लागि किसानले बिमित पशुवस्तुको बिवरण भर्नुपर्छ। कार्यालयबाट खटिएका प्राविधिकले मूल्याङ्कन गर्छन। मूल्य निर्धारण गरेपछि सोही अनुसार बिमा रकम कायम गरिन्छ। कायम गरिएको मूल्यको ९० प्रतिशतसम्म किसानले बिमा दावी गरेपछि भुक्तानी पाउँछन्।
करिब ७५ प्रतिशत मानिस कृषिमा आश्रित रहेको गोरखामा बिमाको पहुँचमा भने ५ प्रतिशत पनि नरहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।
गोरखामा लुम्बिनी जनरल इन्स्योरेन्स र प्रोडेन्सियल इन्सोरेन्स कम्पनीले पशुबस्तुको बिमा गर्दै आएका छन्। ‘चालु बर्षको साउनयता बाख्रा आठ सय, गाईगोरु एक सय १३, र दुईसय ८३ वटा भैँसीको बिमा गरेका छौँ’ लुम्बिनी इन्सोरेन्स कम्पनीका गोरखा स्थित कार्यालय प्रमुख स्वस्तिका पोखरेलले भन्नुभयो ।
बिमा गर्न चाहने किसानले इन्सोरेन्समा कति पशुबस्तुको बिमा गर्ने हो भन्ने बारे जानकारी गराउन सक्ने र प्राविधिक मूल्याङ्कनपछि बिमा गरिने उहाँले बताउनुभयो। ‘रु ८० हजारको मूल्याङ्कन भएको भैँसीको बिमा गर्दा किसानले बार्षिक पाँच हजार तिर्नुपर्नेमा एक हजार प्रदेश सरकारले र पाँच हजार नेपाल(संघ) सरकारले तिर्छ’, उहाँले भन्नुभयो, ‘किसानको खल्तीको चाहिँ नपर्ने भयो।’
बिमा कम्पनीहरुले किसानसंग असुली नगरी सिधै प्रदेश र संघ सरकारसंग सो रकम असुल्ने उहाँले बताउनुभयो ।
पशुवस्तुको बिमासँगै रु दुई सय तिरेपछि दुई लाख बरावरको किसानको दुर्घटना बिमा पनि गरिन्छ । टिकट र यो शुल्क भने किसान आफैँले तिर्नुपर्छ । गोरखामा पशुवस्तुको बिमा गर्ने प्रुडेन्सियल इन्सोरेन्स कम्पनीले साउन यता ८० वटा बाख्रा र ९० वटा भैँसीको बिमा गरेको गोरखा स्थित शाखा कार्यालयका प्रमुख समिर श्रेष्ठले बताउनुभयो ।
‘कुखुरा, माछाको पनि बिमा सुरु गरेका छौँ’ श्रेष्ठले भने ‘बिमाका लागि तोकिएको मापदण्ड भने किसानले पूरा गर्नुपर्छ ।’
बिमा गरिएको पशुवस्तु जंगली जनावरले आक्रमण गरेमा, मरेमा किसानले मूल्याङ्कन रकमको ९० प्रतिशत भुक्तानी पाउँछन् ।
बिमाको पहुँच बाहिर रहेकाले गोरखामा अधिकांश किसान लाखौँ मूल्यको पशुवस्तुमा क्षति हुँदा बिमाको सुविधा पाएका छैनन् । ‘प्राय किसानलाई विमाको सुविधा बारे केही थाहा छैन’ भेटेरीनरी अस्पतालका प्रमुख डाक्टर इन्द्रबहादुर भट्टले भन्नुभया।े