आँबुखैरेनी, असार ९ । "जहाँ प्रविधि छ, त्यहाँ सम्भावना छ; जहाँ शिक्षा छ, त्यहाँ उज्यालो भविष्य छ" भन्ने नारासहित आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शिक्षण–सिकाइ प्रक्रियामा प्रविधिको प्रयोगलाई प्रवर्धन गर्ने उद्देश्यले ६५ इन्चका १६ वटा LED Smart Board वितरण गरेको छ ।
गाउँपालिकाको सामुदायिक शिक्षा सुधार नीति तथा कार्यक्रम अन्तर्गत प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै आज सोमबार विभिन्न सामुदायिक विद्यालयहरूलाई ती बोर्डहरू हस्तान्तरण गरिएको हो।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्मार्ट बोर्डको सही प्रयोगमार्फत कक्षाकोठालाई डिजिटल बनाउन सकिने र यसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, "स्मार्ट बोर्डको प्रयोगले शिक्षण विधिमा नव प्रवर्द्धन ल्याउनुका साथै सिकाइलाई अझ प्रभावकारी, रोचक र अन्तरक्रियात्मक बनाउने अपेक्षा लिएको छ।"
गाउँपालिकाले भविष्यमा पनि प्रविधि मैत्रीक शिक्षामा लगानी गर्दै शिक्षाको स्तर उकास्ने कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।