काठमाण्डौ । नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययनमा आकर्षक गन्तव्य रहेको दक्षिण कोरियाका लागि अध्ययन अनुमतिपत्र (एनओसी) वितरण स्थगित गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि हालै एनओसी स्थगित गरेको हो । अध्ययनका लागि गएका विद्यार्थीले कोरियामा निकै हैरानी बेहार्नुपरेको भन्दै यसअघि विभिन्न गुनासा आउने गरेका थिए । कोरियास्थित नेपाली दूतावासमा समस्या लिएर आउने विद्यार्थी बढेपछि दूतावासले नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो । परराष्ट्र मन्त्रालयले पनि विद्यार्थीका गुनासा तथा उनीहरूले बेहोर्नुपरेका हैरानीका विषयमा जानकारी गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई केही समयअघि पत्राचार गरेको थियो ।
अध्ययनका लागि कोरिया जाने भनिए पनि विद्यार्थीले त्यहाँ गएर सुरुमा कोरियन भाषा पढ्नु पर्छ । उक्त भाषामा दक्ष भएपछि मात्रै उनीहरूले विश्वविद्यालय भर्ना हुन पाउँछन् तर विश्वविद्यालय भर्ना हुनुअघि तथा भर्ना भइसकेपछि पनि उनीहरूले रोजगारीलगायतका विषयमा कष्ट बेहोर्नुपरेको गुनासो आउने गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार दक्षिण कोरियामा अध्ययनका लागि जान भन्दै पछिल्लो पाँच वर्षमा ३१ हजार ९७३ वटा एनओसी जारी गरिएको छ । जसमध्ये २०८१ सालमा मात्रै १० हजारको हाराहारीमा एनओसी जारी भएको छ । नेपाली विद्यार्थीका लागि कोरिया छैटौँ आकर्षक गन्तव्य रहने गरेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।