इच्छाकामना । देवी भञ्ज्याङ आधारभूत विद्यालय कालीखोलाको आठ कोठे भवनको शिलान्यास गरिएको छ । इच्छाकामना गाउँपालिका वडा नं.६ कालीखोलास्थित उक्त विद्यालयको वागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले शिलान्यास गरेका हुन् ।
यसै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश मन्त्री सिलवालकै पहलमा वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट बजेट आएको हुँदा मन्त्री सिलवालले उक्त भवनको शिलान्यास गरेका हुन् । कूल ४५ लाख रूपैयाँ बजेटमा विद्यालय भवन निर्माण हुन लागेको हो । भवनको शिलान्यास गर्दै मन्त्री सिलवालले भवन निर्माणको काम नसकिएसम्म प्रदेशबाट बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।

२०५० सालमा स्थापना भएको विद्यालय जग्गा अभावका कारण साँघुरो ठाउँमा सञ्चालन हुँदै आएकोमा जग्गा प्राप्तीसँगै विद्यालयको पठनपाठनमा सहज हुने विद्यालयकी प्रधानाध्यापक ज्ञानु पाण्डे त्रिपाठीले जानकारी दिइन् । करिब चार कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको भवनको काम भने आँबुखैरेनीस्थित यु एण्ड एच कन्स्ट्रक्सनले पाएको छ ।
शैक्षिक वर्ष २०८१ सालबाट कक्षा ८ सम्मको पठनपाठन हुँदै आएको विद्यालयमा १६६ विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर चेपाङका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थी दुई जना दलित र बाँकी सबै चेपाङ समुदायका छन् ।

विद्यालयको भवन शिलान्यास कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, इच्छाकामना गाउँपालिका वडा नं.६ का अध्यक्ष लक्ष्मण चेपाङ, पूर्ववडाअध्यक्ष भूपेन्द्र चेपाङलगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति थियो ।