आँबुखैरेनी । प्रसिद्ध धार्मिक पर्यटकस्थल छिम्केश्वरी मन्दिरमा बिहीबार एघार हजार बढी भक्तजनले पूजाअर्चना गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार एक सय चौतिस मिटर उचाईमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ स्थित शक्तिदेवीमा भक्तजनको भीड लागेको हो ।
तनहुँ,छिमेकी जिल्ला गोरखा,लमजुङ,कास्की,चितवन,काठमाण्डौं लगायतका विभिन्न जिल्लाबाट भक्तजनको आवागमनले गतबर्षको तुलनामा यसबर्ष मन्दिरमा भक्तजनको संख्या बढेको हो ।
बर्षौदेखि जीर्ण बन्दै आएको उक्त मन्दिरको दुई बर्ष अघि प्यागोडा शैलीमा निर्माण गरिएको थियो । आँटे ताँकेको पुरा गरिदिने भएकाले यस मन्दिर भक्तजनका लागि धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।
गतबर्ष नौ हजारको हाराहारीमा भक्तजन आएकोमा यसबर्ष बृद्वि भएको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिनुभयो । भक्तजनहरुको अघिल्लो दिनदेखि नै भक्तजनहरु ऋाउने
सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छ भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
फागुफूर्णिमाको दिन समेत परेकाले फागु पर्व मनाउन युवायुवतीहरुको उत्तिकै भीड रहेको थियो । एकआपसमा रङरोगन लगाएर रमाइलो गर्दै यात्रा सहज बनाएका थिए ।
एकादशी र औँशीबाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा बलि दिने परम्परा पनि छ । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
आँबुखैरेनीबाट लाब्दीसम्म १६ किमी कच्ची सडकमा जिपयात्रा र त्यसपछि आधा घण्टाको पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धवलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्धहिमाल अवलोकन गर्न सकिन्छ ।
मन्दिर पुन : र्निर्माण कार्य सुरु गरिएकोमा हालसम्म करिब रु.असी लाख बढी खर्च गरी आकर्षक बनाइएको छ ।
मन्दिरसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
गाउँपालिकाले छिम्केश्वरीमाई मन्दिर नजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनःनिर्माण गर्ने लक्ष्य राखेको छ । सात देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ ।
चुमानले भन्नुभयो, “छिम्केश्वरीलाई प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउन योजनाबद्ध रुपमा लागिरहेका छौ । मन्दिर निर्माणमा रु.असी लाख बढी लगानी भैसकेको छ ।
छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएपछि यात्रुलाई हिडडुलमा सहज भएको छ ।