Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पौडेल हत्याका दोषीहरुलाई आममाफी दिई रिहा गरेकोप्रति परिवारको विरोध

पौडेल हत्याका दोषीहरुलाई आममाफी दिई रिहा गरेकोप्रति परिवारको विरोध

इच्छाकामना न्युज

९, फाल्गुण २०७७
पौडेल हत्याका दोषीहरुलाई आममाफी दिई रिहा गरेकोप्रति परिवारको विरोध
images

चितवन, ९ फागुन । नेपाल तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका तीन जनालाई बाँकी सजाय मिनाहा भएपछि उनको परिवारले आपत्ति जनाएको छ ।

images
images

पौडेलको परिवारले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै सरकारले नै दोषीलाई मिनाह गर्नु निकै दुःखद भएको बताएको छ ।

प्रजातन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले ५०० बढी कैदीबन्दीलाई सजाय माफी दिएकी थिइन् । मन्त्रिपरिषद्को सिफारिसमा ४०१ कैदीको बाँकी कैद र १७९ जनाको भुक्तान हुन बाँकी कैदमा छुट दिइएको थियो ।

कारागार विभागले गरेको असल चाल चलनको सिफारिसको आधारमा उनीहरुलाई कैद मिनाह गरिएको बताइएको छ । जेलभित्रै हत्या गर्ने मान्छे भए पनि कानुनअनुसार छुट पाउने व्यवस्था रहेकाले सोही अनुसार सिफारिस गरिएको कारागार विभागले जनाएको छ ।

राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा माफी गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।प्रजातन्त्र दिवसका अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १३ जना कैदीले आम माफी पाए । जसमध्ये तीन जना शिव पौडेलको हत्यामा संलग्न भई २० वर्ष कैद सजाय भोग्दै आएका थिए । उनीहरु फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी हुन् ।

वि.सं. २०६८ पुसमा जिल्ला कारागार भरतपुरभित्र तत्कालिन तरुण दलका अध्यक्ष शिव पौडेलको हत्या भएको थियो । केराबारीमा भएको गोली काण्डको अभियोगमा पुरपक्षका लागि थुनामा रहेको समयमा कारागारमा पौडेलको हत्या गरिएको थियो । हत्याको आरोपमा उनीहरु तीन जनालाई २० वर्ष कैद सजाय फैसला भएको थियो । हाल उनीहरु १० वर्षमै छुटेर कारागारमुक्त भइसकेका छन् ।

पत्रकार सम्मेलनमा पौडेलकी श्रीमती बिनु रायमाझी पौडेलले सरकार र राष्ट्रपति जस्तो संस्थाले आममाफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य भएको भन्दै यसविरुद्ध आफू अदालत जाने बताइन् । उनले भनिन्, ‘राष्ट्रपतिले अहिले आफ्नो श्रीमानको हत्यारा खोज्नु पर्ने हो कि अर्काका हत्यारालाई छुटाउने हो’ उनले भनिन्, ‘उनीहरुलाई के कारणले माफी दिइएको हो ?’

एउटै परिवारका दुई भाई मारेर सजाय भोगिरहेकालाई आममाफी दिँदा आफूहरुले देशमा न्याय मरेको अनुभव गरेको पौडेलले बताइन् । ‘हत्यारा ठहर भएकालाई आममाफी दिँदा पीडित परिवारको मनमा के हुन्छ भनेर सोच्नु पर्दैन’ उनले भनिन् ।

शिव पौडेलका भाई गोविन्द पौडेलको हत्याको आरोपमा उनीहरुले पाँच\पाँच वर्षका लागि कैद सजाय भोगिरहेका थिए । उनीहरुले गोविन्दको विसं. २०६६ साल जेठ ३ गते हत्या गरेका थिए । सो आरोपमा उनीहरु कारागारमा थिए । त्यसैबखत केराबारीमा भएको गोली काण्डको अभियोगमा पुरपक्षका लागि कारागारमा रहेका बेला शिव पौडेलको हत्या गरिएको थियो । कारागारमा रहेको समयमा सोही समूहले गोविन्दका दाजु शिव पौडेललाई पनि आक्रमण गरेको थियो ।

२०६८ साल मंसिर २० गते पौडेलमाथि आक्रमण भएको थियो । आक्रमणमा परी गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा पुस २ गते काठमाडौंको न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - १७:३५:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology