काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा छलफल र विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ गरेका छन्।
शनिबार बसेको बैठक समसामयिक राजनीतिक विषय र स्थानीय तह उपनिर्वाचनमा भएका कमी कमजोरीहरुसहति आत्मालोचना र आत्मसमीक्षा गर्ने काम भएको रास्वपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिए।
उनले भने, ‘आजको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा बृहत छलफल गरेका छौं। विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ दिने काम भयो, मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा भएका हाम्रा कमी कमजोरीहरुसहित आत्मालोचना र आत्मसमीक्षासहित अगामी दिनमा पार्टीलाई कसरी बलियो बनाउने र जनतामाझ कसरी जाने भन्ने विषयमा छलफल भयो।’
बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा.स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक सन्दर्भमा जानकारी गराउँदै पार्टीका गतिविधिका बारेमा बिफ्रिङ गरेका थिए।
बैठकले पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। बैठकमा अभियान यही माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने छलफल भएको रास्वपाले जनाएको छ।