गोरखा । गण्डकी गाउँपालिकाले अद्यावधिक नभएका सहकारीहरुलाई खारेज गर्ने चेतावनी दिएको छ ।
पालिकाभित्रका ५० प्रतिशत भन्दा बढि सहकारीहरु बर्षौदेखि निस्कृय रहेको भन्दै त्यस्ता सहकारीलाई तत्काल अद्यावधिक गर्न सूचित गरेको छ । अद्यावधिक नगर्ने सहकारीलाई सो पालिकाले खारेज पनि गर्न सकिने भन्दै सचेत गराएको छ ।
‘सहकारी व्यवस्थित बनाउने सन्दर्भमा १५ दिनभित्र गाउँपालिकाको कार्यालयमा आई सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) प्रणालीमा प्रविष्ट गर्ने लगायतका काम कारबाही गर्नुगराउनु हुन अनुरोध छ’, सूचनामा भनिएको छ, ‘१५ दिनभित्र सहकारी अद्यावधिक गरी विधिवत रुपमा सहकारी संचालन नगरे पालिकाको सहकारी ऐन २०७४ परिच्छेद १५ को दफा ८८ बमोजिम संस्था खारेज गर्न सकिने व्यवस्था छ ।
आ–आफ्नो सहकारीहरुलाई व्यवस्थित गर्न १५ दिनभित्र गाउँपालिकामा आई कोपोमिस प्रणालीमा प्रविष्ट गर्ने लगायतका काम कारबाही गर्नुहुनु अनुरोध छ ।’ सहकारीहरुले वार्षिक रुपमा नविकरण हुन आवश्यक कागजात (वार्षिक साधारण सभाको माइन्युट, गत आर्थिकवर्षको लेखा परिक्षण प्रतिवेदन, संस्था दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र), गाउँपालिकाको सहकारी ऐन २०७४ अनुसारको विनियम बनाई प्रमाणित साथै कोपोमिस प्रणालीमा सहकारीको मासिक रुपमा सहकारीको आयव्याय प्रविष्ट गर्नुपर्ने प्रावधान रहेको छ ।
तर, गाउँपालिकाको ५० प्रतिशतभन्दा बढी सहकारीहरु निष्कृय रहेको गण्डकीका प्रमुख प्रशासकिय अधिकृत भुवन चापागाईले बताए । ‘हाल कुनैपनि सहकारीहरुले मासिक रुपमा कोपोमिस प्रवष्ट नगरेको अवस्था छ’, उनले भने, ‘कतिपय सहकारीहरुले नियमित रुपमा काम कारवाही नगरेका तथा संस्था नविकरण समेत नभएका पाइएको छ ।’
यस्ता निष्कृय सहकारीहरुलाई नियमित रुपमा विधिवत तरिकाले संस्था संचालन गर्न पालिकाले निर्देशन समेत दिएको उनले जानकारी दिए । हाल गाउँपालिका भित्र कार्यक्षेत्र कायम गरेर ४२ वटा सहकारीहरु दर्ता भएको उनको भनाइ छ ।