Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

पाहुना बोलाउँदै इच्छाकामनाका ‘होमस्टे’

पाहुना बोलाउँदै इच्छाकामनाका ‘होमस्टे’

images

इच्छाकामना न्युज

२३, मंसिर २०८१
पाहुना बोलाउँदै इच्छाकामनाका ‘होमस्टे’
images

भरतपुर । हिउँदको याम, होमस्टेको माम । त्यही माममा लोकल कुखुराको मासु, सिस्नुको झोल । त्यसमाथि कोदोको तिख्खर स्वाद । आहा ! साथमा गुरूङको चुड्का नाच र चेपाङ संस्कृति ।

यस्तो वातावरण पाइन्छ, चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा रहेको सामुदायिक घरबास (होमस्टे)मा । पर्यटक प्रवर्द्धन गर्दै स्थानीयका आयआर्जन बढाउने इच्छाकामना गाउँपालिकाले सञ्चालनमा ल्याएको हो यो घुर्केश ‘होमस्टे’ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शुक्रबार होमस्टेको उद्घाटन गरे । यो होमस्टेसहित इच्छाकामना गाउँपालिकामा अब पाँचवटा ‘होमस्टे’ सञ्चालन भए ।

एउटा होमस्टेमा २० भन्दा बढी पाहुना अटाउन सक्छन् । १४ घरमा ५० जनासम्म पाहुना अटाउने गरी घुर्केश होमस्टे सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख दानबहादुर गुरूङले बताए ।

इच्छाकामना–२ कै मायाटारमा चेपाङ ‘होमस्टे’ले पाहुना बोलाइरहेको छ । इच्छाकामनाको गर्दासमा तामाङ होमस्टे छ । इच्छाकामनामै मगर होमस्टे रहेको छ । गुरूङ र चेपाङ समुदायको बाहुल्य भएको घुर्केश गाउँमा घुर्केश होमस्टे सञ्चालनमा ल्याएपछि यस गाउँपालिका नै होमस्टेका लागि चर्चित बन्दै गइरहेको छ ।

‘घुर्केश होमस्टे इच्छाकामनाको पाँचौँ ‘होमस्टे’ हो, सबै होमस्टेले पाहुना बोलाएका छन्, अब इच्छाकामनाका होमस्टेमा दुई सयभन्दा बढी पाहुना राख्न सक्ने क्षमता बनेको छ’, गाउँपालिका प्रमुख गुरूङले भने । उनका अनुसार भरतपुर सहरमा ४१ डिग्री तापक्रमबाट उकुसमुकुस हुनेहरु इच्छाकामनाको होमस्टेको चिसोमा रमाउन आउनेहरुको ताँती लाग्दैछ । उनले आवश्यक पर्दै गए अन्य ठाउँमा पनि ‘होमस्टे’ सञ्चालनमा ल्याउने बताए ।

इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले इच्छाकामनाका होमस्टेमा काठमाडौँ, चितवन, मकवानपुर, धादिङ, पोखरालगायतका ठाउँबाट समूह बनाएर आउने गरेको बताइन् । उनले भनिन्, ‘यहाँका होमस्टेका कलाकारहरुले विभिन्न समुदायको संस्कृतिदेखि नाचगान देखाउँछन् । स्थानीय परिकारमा सिस्नुको झोलदेखि लोकल कुखुराको मासुसमेत खान पाइन्छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गत शुक्रबारदेखि सञ्चालनमा ल्याएको घुर्केश होमस्टेका लागि गाउँपालिकाले यो वर्ष ६ लाख लगानी गरेको बताए । उनले भने, ‘स्थानीयको सहभागितामा गाउँपालिकाले लगानी गरेको छ, पाहुना बढ्दै गए थप पूर्वाधार बनाउन थप रकम गाउँपालिकाले उपलब्ध गराउँछ ।’

घुर्केश ‘होमस्टे’को उद्घाटन कार्यक्रममा प्रमुखअतिथि चितवन जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले इच्छाकामनाका होमस्टेमा आएका पाहुनाहरुले उपरदाङगढीमा अध्ययन अवलोकन गर्न पाउने बताए ।

उनले भने, ‘इच्छाकामना मन्दिर छ, पाथीभरा मन्दिर छ, बालगौरी माताबाट आशीर्वाद लिन सकिन्छ, यसका लागि पनि यहाँका होमस्टेमा पाहुना भरिभराउ पक्कै हुन्छन् ।’ उनका अनुसार पाहुना बेलुका ‘होमस्टे’मा स्थानीय रहनसहन र खानपानमा रमाउँछन्, भोलिपल्ट उपरदाङगढी पुग्छन् र इच्छाकामना मातालाई भेट्छन् ।

घुर्केश ‘होमस्टे’ सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कुमार गुरूङले पाहुनालाई गुरूङ समुदायको संस्कृति र रीतिरिवाज देखाइने बताए । उनले भने, ‘हाम्रो विशेषता लोकल कुखराको मासु, सिस्नुको झोल र कोदाको चुस्की हो, जसले पाहुनालाई लठ्याउँछ ।’

सडक, बिजुली र खानेपानी पुगेपछि इच्छाकामनामा होमस्टे सञ्चालनमा ल्याएको इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए । उनले भने, ‘सबै सुविधा हाम्रो गाउँमा भयो, अब पाहुना बोलाएर आर्थिक आम्दानी बढाउने हो ।’

वडाध्यक्ष चेपाङका अनुसार इच्छाकामनाको ऐतिहासिक उपरदाङगढी किल्ला र मायाटारनजिकै रहेको घुर्केश गाउँमा सजिलै गाडीहरु पुग्न सक्छन् । भरतपुरबाट शक्तिखोर फिस्लिङ हुँदै डेढ घन्टाको गाडीको यात्रामा घुर्केश पुगिन्छ । होमस्टे सञ्चालनसँगै पर्यटकको आवागमन वृद्धि र यहाँको गरिबी हट्ने उनले बताए ।

पूर्ववडाध्यक्ष चित्रबहादुर गुरूङले यहाँको संस्कार र संस्कृतिमा पाहुनालाई भुलाउने बताए । भौगोलिक विकटता र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका गाउँहरुले ‘होमस्टे’मार्फत पहिचान बनाउने उनले बताए ।

कालिका नगरपालिकाका पूर्वप्रमुख गोपी श्रेष्ठले इच्छाकामनाका होमस्टेको सम्भावना अत्यन्तै राम्रो रहेको बताए । उनले भने, ‘इच्छाकामनामा सडक पुग्यो, बिजुली पुग्यो, अब यहाँको प्रचारप्रसार हुन सके पाहुना अवश्य आउँछन् । यतिबेला पाहुना बोलाउँदै स्वागतका लागि इच्छाकामनाका ‘होमस्टे’ तयारी अवस्थामा रहेका छन् ।’

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १३:०८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology