तनहुँ- जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी असारदेखि मिर्गौला समस्याका लागि डायलासिस सेवा सुरु गर्ने भएको छ । डायलासिस सेवा सुरु गर्न आवश्यक संरचना लगायतका काममा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग गर्नेछ । केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले आगामी शरद्देखि सेवा दिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । डायलासिस सेवा सुरु गर्न माग बढेको छ । हामी यो सेवा सुरु गर्ने आन्तरिक तयारीमा छौं। केन्द्रले दुई नर्सलाई तालिम दिएर सेवा सञ्चालनको तयारीमा राखेको, मङ्सिर १ बाट थप दुई जनालाई तालिममा पठाइएको डा श्रेष्ठले बताए । अस्पतालमा अत्यावश्यक सेवा सञ्चालन गर्न केही समयअघि निरीक्षणका लागि आएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रालयबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए । उनले आफ्नो कार्यकालमा केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सक्ने गरी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । स्वास्थ्य बीमा बढेसँगै यस अस्पतालबाट दैनिक तीन सय बिरामीले सेवा लिने प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताए । उनले श्वासप्रश्वास रोग तथा औषधि, स्त्री रोग, बालरोग, नाक, कान घाँटी, सामान्य शल्यक्रियामा विशेषज्ञ सेवा प्रदान गर्दै आएको जानकारी दिए ।