Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

‘जहाँ हरेक काम गर्दा साइत जुराउनु पर्छ’

‘जहाँ हरेक काम गर्दा साइत जुराउनु पर्छ’

इच्छाकामना न्युज

३, मंसिर २०८१
‘जहाँ हरेक काम गर्दा साइत जुराउनु पर्छ’
images

यदुप्रसाद भट्ट

images
images

मनाङ । खर्कभरी चौंरी, याक र घोडाका बथान छन् । मङ्सिर लागेसँगै यिनलाई लेकबाट बेँसी झारिन्छ । माथि लेकमा घाँस पनि सकिएको र अत्यधिक चिसो बढ्न थालेको छ । 

हिउँदमा पहाड र तराईजस्तो पशुचौपायालाई खुवाउने पराल पाइँदैन मनाङमा । न त दाना नै किन्न पाइन्छ अनि बथानका बथान पशु चौपायालाई दाना दिन पनि सकिँदैन । यस्तै, पिरलोले सधैं राति नै उठ्नुपर्ने र हिउँदमा पशुका लागि घाँसको व्यवस्थापन गर्नुपर्ने बाध्यता छ, मनाङ नार्पाभूमि गाउँपालिका फु गाउँका महिलालाई ।

नार्पाभूमिका किसानहरू हरेक काम गर्दा साइत हेरेर जुराएर मात्र गर्छन् । गोठ सार्न, यार्सागुम्बा टिप्न, जिम्बु टिप्न, बाली लगाउन, सिँचाइ गर्न अनि आफ्नो थातबास छाडेर सहर पस्न पनि साइत नहेरी कोही जाँदैनन् । गाउँका मुख्य लामाले साइत निकालेपछि मात्र उनीहरूले आफ्नो काम गर्ने चलन छ । 

‘लामाले निकालेको साइतमा मात्र काम गर्ने चलन छ हाम्रो । बिना साइत हामी कुनै काम गर्दैनौं’ नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले भन्नुभयो । उहाँले सामूहिक काम गर्दा लामा गुरुले साइत निकालेपछि कटुवाल लगाएर जानकारी दिने र सोहीअनुसार काम गर्ने पुरानै चलन रहेको बताउनुभयो ।

यही र यस्तै साइत जुराएर तल–तल पहाड भीरमा पुगेर खर घाँस काट्नुपर्ने र त्यही घाँसलाई सुकाएर पराल बनाई हिउँदमा हिउँ परेको बेला खुवाउनुपर्ने हुँदा यतिबेला फु गाउँका किसानलाई भ्याइनभ्याइ हुन्छ । 

फु गाउँकी नाङसाङ छ्योकी मध्यरातमै गाउँलेसँगै उठेर घाँस काट्न क्याङ पुग्नुभयो । फुबाट क्याङ जान ३ घण्टा लाग्छ । उज्यालो हुँदा गाउँभरिका किसानहरू क्याङमा भरिभराउ भएका थिए । उनीहरू लामाले जुराएको साइतमा घाँस काट्नका लागि क्याङ गएका हुन् । लामाले घाँस काट्न निकालेको साइतबारे अघिल्लो दिन नै कटुवालमार्फत गाउँलेलाई सूचित गरिएको थियो । डाँडामाथिबाट कटुवालले चिच्याएर गाउँलेलाई साइतबारे जानकारी दिएका थिए ।

नार्पाभूमि गाउँपालिका –१ नरका वडाध्यक्ष फुर्पा ठेले लामाले हिउँ परेको समयलाई सहज बनाउन घाँस काटेर राख्ने गरिएको बताउनुभयो । ‘यो पशुपालन गर्ने ठाउँ हो । हिउँ परेपछि पशु जोगाउन गाह्रो हुन्छ । हरियो घाँस पाइँदैन’ उहाँले भन्नुभयो– ‘पशुपालन धेरै भएको हुँदा बेलैमा जोहो गरिएन भने हिउँद साह्रै कष्टकर हुन्छ । हिउँदका लागि जोहो गरिएको हो ।’ 

नारका किसानहरू च्याँखु र मेतासम्म घाँस काट्न झर्छन् भने फु गाउँका चाहिँ क्याङमा जान्छन् । उनीहरूले ३ दिनसम्म गाउँमै घाँस काट्छन् । ३ दिन वनमा र बाँकी ३ दिन बेँसीमा गएर घाँस काट्ने गर्छन् । ‘घाँस धेरै उम्रेको वर्षमा ३ दिनसम्म काट्छौं । घाँस नहुँदा २ दिनसम्म काटिन्छ’ लामाले भन्नुभयो, ‘अनुकूल समय हेरेर समाजको काम र मौसमसमेत आँकलन गरेर लामाले साइत निकाल्नुहुन्छ ।’ 

लामाको गोठमा ६ वटा याक र २ वटा घोडा छन् । हिउँदयाम सुक्खा हुँदा पशुपालनमा निकै सास्ती पर्ने उहाँको भनाइ छ । तीन दिन काटेको घाँसले हिउँदभरिलाई पुर्‍याउनुपर्ने बाध्यता छ ।

एक हिसाबले घाँस काट्ने समय पर्वजस्तै उत्सवमय हुन्छ । हुन त बेँसीमा चरन क्षेत्र छुट्याइएको छ । नार र फुमा वर्षाका बेला बेँसीमा बस्तु झार्न प्रतिबन्ध छ भने हिउँद लागेपछि गाउँमा उकाल्न पाइँदैन । वर्षाको समय खेती गरिन्छ । खेती मास्ने डरले पशुहरू लेकतिर चराउँछन् । 

गाउँलेहरू हिउँदका लागि बसाइँ पनि सर्छन् । नार गाउँका मानिसहरू च्याँखु र मेतामा सर्छन् भने फु गाउँकाहरू क्याङमा आउँछन् । केहीचाहिँ आफन्त भेट्न र सानोतिनो व्यापारका लागि काठमाडौं, पोखरा र नेपालका विभिन्न सहरमा पुग्छन् । यो उनीहरूको वार्षिक तालिका नै हो ।

‘मौसम सफा भएको र पानी नपर्ने समय पात्रोबाट लामाले खोजी गर्छन् । लामाले निकालेको समयभित्र घाँस र खेती थन्क्याइसक्नुपर्छ’ गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले भन्नुभयो, ‘भ्याइएन भने पनि त्यसपछि काम गर्न पाइँदैन । खासगरी लामाले फसल नकुहिने समयको खोजी गर्ने हो ।’ तराई र पहाडमाजस्तो यहाँ मन लागेको बेला बाली भित्र्याउन र घाँस काट्न नपाइने लामाले बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - ०८:०५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology