गोरखा, २९ कात्तिक। गोरखा नगरपालिकाले चालु आर्थिक बर्ष २०८१/८२ लाई भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरिसकेको छ । भ्रमण बर्ष सफल बनाउन बिभिन्न तयारीहरु भइरहेका छन् । नगरभित्रका धार्मिक एवं पर्यटकीय स्थलहरुको पहिचान गर्ने काम भइसकेको नगर प्रमुख कृष्ण रानाले बताए । ‘५६ वटा धार्मिक एवं पर्यटकीय स्थलको पहिचान गरेका छौँ,’ उनले भने, ‘त्यसको बुकलेट पनि तयार हुदैँ छ ।’
नगर आउने पर्यटकलाई बुकलेट उपलब्ध गराएर सो क्षेत्रको भ्रमणका लागि प्रोत्साहन गरिने उनले जानकारी दिए । उनका अनुसार ती स्थानहरुको परिचय र संक्षिप्त विवरणसहितको साइनबोर्ड राख्ने काम पनि अघि बढिसकेको छ । ‘त्यो ठाउँसम्मको दुरी कति छ ? पैदल जाँदा र गाडीमा जाँदा कति समय लाग्छ ? र त्यो ठाउँको ऐतिहासिक र धार्मिक महत्व के छ ? भन्ने कुराको संक्षिप्त जानकारी त्यो साइनबोर्डमा हुन्छ,’ उनले भने । बसपार्कलाई केन्द्रविन्दु बनाएर ती स्थलहरुको दुरी निर्धारण गरिएको उनले जानकारी दिए ।
उनका अनुसार भ्रमण बर्षलाई लक्षित गरी आँवुखैरेनीदेखि गोरखा बजारसम्म क्यूआर कोड सहितको ‘स्ट्रिट नम्वर’ राख्ने नगरपालिकाले तयारी थालेको छ । गोरखा आँवुखैरेनी सडकखण्ड अन्तरगत जोडिने शाखा बाटोहरुमा ‘स्ट्रिट नम्वर’ राखिने बताउँदै मेयर रानाले भने, ‘त्यहाँ रहेको क्यूआरकोड स्क्यान गरेपछि त्यो बाटोबाट पुग्ने ठाउँ र त्यस ठाउँको महत्व लगायतका विवरण आउँछ ।’
बसपार्क आसपास सूचना केन्द्र स्थापनाको तयारी पनि थालिएको छ । उक्त केन्द्रबाट पर्यटकलाई नगरभित्रका घुम्ने ठाउँहरुको विवरण उपलब्ध गराइने छ । कुहिरेभिर डाँडामा टाढैबाट देख्न सकिने गरी गोरखा जिल्लाको नक्सा निर्माण गरिने बताइएको छ । रातको समयमा पनि देख्न सकिने गरी बत्ती जडान हुने रानाले बताए । १५ लाख बजेट विनियोजन भएर निर्माण प्रक्रिया अघि बढिसकेको नगरपालिकाले जनाएको छ ।
भ्रमण बर्षमा पर्यटन मेलाको आयोजना गरिने बताइएको छ । होमस्टे बिस्तार गर्दै लोकल रक्सीलाई ब्राण्डिङ गर्ने योजना समेत रहेको रानाले जानकारी दिए । नगरपालिका आउने पर्यटकलाई नगरभित्र बसोवास गर्ने बिभिन्न जातजातिका संस्कृतिहरु देखाउने योजना पनि रहेको उनले बताए । भ्रमणबर्ष सफल बनाउन यही मंसीर ५ र ६ गते जिल्लामा वृहत छलफल कार्यक्रम राखिएको छ ।
पूर्व प्रधानमन्त्री एवं गोरखा २ बाट विजयी सांसद पुष्पकमल दाहाल प्रचण्ड, गोरखा १ बाट विजयी सांसद राजेन्द्र बजगाईँ, पूर्व प्रधामनन्त्री बाबुराम भट्टराई, राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, टानका अध्यक्ष, पर्यटन व्यवसायी लगायत जिल्लाका सरोकारवालाहरुको सहभागिता रहने उक्त कार्यक्रमले गोरखा पर्यटन घोषणापत्र निर्माण गर्ने बताइएको छ । समग्र जिल्लाको पर्यटन प्रवद्र्धनको बिषयमा उक्त छलफल केन्द्रित रहने भनिएको छ ।
मेयर रानाका अनुसार बजार क्षेत्रको सुन्दरताका लागि फुटपाथलाई व्यवस्थित गर्ने काम पनि अघि बढेको छ । प्राविधिक अध्ययन भइसकेको र केही दिनमै ठेक्का भएर काम सुरु हुने उनले जानकारी दिए । उनका अनुसार खोलखोलेदेखि गोरखा बसपार्कसम्म दुवैतर्फ व्यवस्थित फुटपाथ बन्ने छ । हाल भएको फुटपाथलाई हटाएर नयाँ बनाइने र सडक पनि चौडा गरिने उनको भनाइ छ ।
खोलखोलेदेखि हरमटारीचोकसम्मको फुटपाथ सडक डिभिजन कार्यालय दमौलीले बनाउने भएको छ । हरमटारीदेखि बसपार्कसम्मको फुटपाथ गोरखा सडक योजना र नगरपालिका मिलेर बनाउने बताइएको छ । एक ‘साइड’ को फुटपाथ गोरखा सडक योजना र अर्काे साइडको नगरपालिकाले बनाउने मेयर रानाले बताए । ‘अहिले भइरहेको नाली सबै हट्छ, सडक पनि केही चौडा बनाउछौँ र एउटै लेवलको आधुनिक खालको रंगीन फुटपाथ निर्माण हुन्छ,’ उनले भने ।
फुटपाथ निर्माणमा बाधा पुग्ने गरी बनाइएको सेफ्टिट्यांकीहरु घरधनी आफैले अन्यत्र व्यवस्थापन गर्ने सहमति समेत भइसकेको उनले जानकारी दिए । पार्किङलाई व्यवस्थित गर्न खोलखोलेमा करिव एकसय वटा गाडी पार्किङ गर्न मिल्ने बसपार्क निर्माणको काम समेत भइरहेको उनले बताए । सहरी नगर बिकाससँगको सहकार्यमा यो बर्ष पर्यटन गुरुयोजना तयार गरिने भएको छ ।
भ्रमण बर्ष सफल पार्न बिज्ञ सहित जिल्लाका सरोकारवालाहरुसँग आवश्यक छलफल समेत भइरहेको मेयर रानाले जानकारी गराए । पर्यटकीय शहरसँग सहकार्यका लागि पर्यटकीय संजाल बनाउने योजना नगरपालिकाको छ । भ्रमण बर्षका लागि स्टिकर र ब्याच निर्माण भइसकेको बताइएको छ । भ्रमण बर्षमा आउने पर्यटकका लागि बिशेष सहुलियतको समेत व्यवस्था हुने बताइएको छ । भ्रमण बर्षको लागि ‘गोरखा जहाँ इतिहास जिवित छ’ भन्ने नारा तय गरिएको छ ।