बुंकोट, २२ असोज । विद्यार्थी संख्या न्यून भएर बन्द भएको गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोटको मकैपुर आधारभुत विद्यालय पुन संचालनमा आएको छ ।
२०७५ सालमा बन्द भएको विद्यालयमा यो वर्षदेखि कक्षा २ सम्म संचालन हुने वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
बाल कक्षामा ८ जना, कक्षा १ मा १२ जना र २ मा चार जना विद्यार्थी भर्ना भईसकेका छन् । कोभिडका कारण शैक्षिक सत्र सुरु भएपनि विद्यालय संचालन हुन सकेको थिएन । अहिले शिक्षकले सिकाई सहजिकरण गरिरहेका छन् ।
गाउँपालिकाले स्थायी दरबन्दी तोकेर एक जना शिक्षक पनि पठाएको छ । ‘गाउँ नजिकैको विद्यालय बन्द हुने अवस्था आएपछि स्थानीयको सक्रियतामा पुन संचालन गरेका हौँ’ वडा अध्यक्ष श्रेष्ठले भने । निजी विद्यालयमा पढ्ने विद्यार्थी र गाउँबाट टाढाको विद्यालय जाने बालवालिका अब नजिकैको विद्यालय पढ्नेछन् ।
शहिदलखन गाउँ कार्यपालिकाको बैठकले बन्द विद्यालय चालु वर्षदेखि संचालन गर्ने निर्णय गरेसँगै विद्यालय पुन संचालनमा आएको हो । विद्यालय संचालनका लागि वडा कार्यालयले बिभिन्न ब्यक्ति, संघ संस्था सँग समन्वय गरिरहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
सोही क्रममा बुधवार गोरखा नगरपालिका ३ का ब्यवशायी जिबन खड्का र नेपाल विद्यार्थी संघ गोरखाका उपाध्यक्ष शिबहरी तिमल्सिनाले किताब, कापी, लगायतका स्टेशनरी विद्यार्थीलाई सहयोग गरेको विद्यालयले जनाएको छ ।
‘विद्यालयको ब्यवस्थापन पक्षमा सुधार गर्दै शैक्षिक गुणस्तर बढाउन गाउँपालिका सँग समन्वय भएको र सहयोग मिलेको वडा अध्यष श्रेष्ठले बताए ।