मायाटार । चितवनको इच्छाकामना २ स्थित दुम्किम हेप्चेक खनेपानी तथा सरसफाई परियोजना सम्पन्न भएको छ। आज गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो । वडा नम्बर २ को मायाटार, दुम्किम, घुर्केश र हेप्चेकका १२७ घरमा एक घर एक धारा निर्माण गरिएको हो ।
गाउँपालिका, वाइट टु वाटर र स्थानीयको साझेदारीमा आयोजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजना सम्पन्न भएको हो । ७९ लाख ७७ हजार रुपैयाँमा आयोजना सम्पन्न भएको हो ।
उहाँका अनुसार १२७ वटै घरमा सौचालय पनि निर्माण गरिएको छ । गाउँपालिकाले सामुदायिक र विपन्न गरि २५ वटा सौचालय निर्माणका लागि आर्थिक सहयोग समेत प्रदान गरेका थिए ।
वाइन टु वाटरकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले त्रिपक्षीय साझेदारीमा गरिएको काम समयमै सम्पन्न भएको बताउनुभयो । वाइन टु वाटर आधारभूत सुविधामा पहुँच नपुगेका समुदायको जीवनस्तर परिवर्तनमा क्रियाशील रहेकोे बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत ,वडाध्यक्ष पञ्च बहादुर चेपाङ, लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । बुधबार मात्र वडा नम्बर २ कै छापडाडाँमा ५५ वटा धाराको उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार उक्त आयोजना ९० लाखमा सम्पन्न भएको हो । बर्षौँदेखि खाने पानीको अभाव झेल्दै आएका यहाँका स्थानीयहरु खुशी भएका छन् ।
गाउँपालिकाले वाइन टु वाटर र स्थानीयको साझेदारीमा यस आर्थिक बर्षमा २६५ धारा निर्माण सम्पन्न गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।