कुरिनटार । नेपालमा चालु आर्थिक वर्षको अन्त्यतिर मात्र बजेट सकाउन हतार हतारमा योजनाहरु संचालन गरि सम्पन्न गर्ने परिपाटी अहिले हैन लामो समय देखि चलिआएको छ । जब आर्थिक वर्षको अन्त्यतिर आईपुग्छ अनि बल्ल सरकारी योजनाहरु सकाउदै बजेट भुक्तानी गर्ने परिपाटि छ ।
तर यसको अपवाद चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ मा भने चालु आर्थिक वर्षका लागि संचालित सम्पूर्ण योजनाहरुको निर्माण वैशाख महिना नसकिदै सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०।०८१ को १० महिना बितिरहदा उक्त वडामा संचालित सबै योजना सम्पन्न भएको हो ।

समयमै सम्झौता गरी समयमै सबै योजनाहरु सम्पन्न भएको इच्छाकामना गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख महिनासम्म आईपुग्दा गाउँपालिका, प्रदेश र संघका साथै वडाको आफ्नो छुट्टै बजेटद्वारा संचालित सबै योजनाहरुको निर्माण सम्पन्न भैसकेको हो ।
चालु आर्थिक वर्षमा इच्छाकामना गाउँपालिका वडा नं. ४ मा २० वटा विभिन्न योजना संचालित भएकोमा गाउँपालिकाको १४ औं गाउँसभाबाट थप ४ वटा योजना थप योजना थप गरि २४ वटा योजना संचालित रहेको थियो । उक्त २४ वटा योजनाको बजेट ३ करोड ३५ लाख रहेको वडाध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

यसैगरी वडा नं. ४ मा संचालित नयाँबस्ती, बेलडाडाँ, लामिडाडाँ हुदै नाग्दिखोलासम्मको सडक बाटो स्तरोन्नती योजनाको बाहेक बाँकी सम्पूर्ण योजनाको कार्य सम्पन्न भै भुक्तानी समेत भैइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार काम सम्पन्न भएपनि भुक्तानी हुन बाँकी नयाँबस्ती, बेलडाडाँ, लामिडाडाँ हुदै नाग्दिखोलासम्मको सडक बाटो स्तरोन्नती योजनाको समेत ६० प्रतिशत रकम भुक्तानी भैइसकेको र बाँकी ४० प्रतिशत रकमको पनि भुक्तानी प्रोसेस भैरहेको छ । ‘बाँकी रकम पनि केहि दिन भित्रै भुक्तानी हुनेछ ।’ –उहाँले भन्नुभयो ।

यता गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले वडा नं. ४ मा मात्र नभै गाउँपालिकामा संचालित चालु आर्थिक वर्षका सम्पूर्ण योजनाहरु निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको बताउनुभयो । ‘हामी चालु आर्थिक वर्षका सबै योजनाहरुको निर्माणको अन्तिम चरणमा छौं, निर्माण सम्पन्न हुन बाँकी योजनाहरु समेत केहि दिन भित्रमा सक्नेछौ र जेठमा हामी आगामी आर्थिक वर्षको योजना छनौट र बजेट निर्माणमा लागि पर्नेछौं ।’ –उहाँले बताउनुभयो ।