कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०।०८१ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिबार गाउँपालिकाको सभाहलमा गाउँपालिकाको अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले हाल सम्म ६ करोड ७४ लाख राजश्व संकलन गरेको जानकारी दिएका छन् । गाउँपालिकाले यस आर्थिक बर्षमा ८ करोड ९४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताए । ढुंगा गिटी बालुवाबाट मात्र २ करोड लक्ष्य लिएकोमा १९ लाख ४० हजार मात्र राजश्व संकलन भएको बताए । ढुंगा गिटी बालुवाको सही तरिकाले सदुपयोग गर्न सक्यो भने लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सक्ने बताए ।

हाल सम्म कुल बजेटको ४८.५२ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ । चालु तर्फ ५४.५१ प्रतिशत र पुँजीगत तर्फ ३७.१४ करोड खर्च भएको छ । गाउँपालिकाको यस आर्थिक बर्ष २०८०।८१का लागि ६७ करोड ७० हजार विनियोजित बजेट मध्ये ३२ करोड ५१ लख ५९ हजार खर्च भएको हो । चालु तर्फ ४४ करोड ७३ लाख ८३ हजार र पुँजीगत तर्फ २२ करोड २६ लाख ८७ हजार बजेट विनियोजन भएका थिए ।

यस आर्थिक बर्षमा गाउँपालिकाबाट पाँच लाख भन्दा माथिका ४२ वटा भौतिक आयोजना सम्झौता भएकामा २० वटा आयोजनाको भुक्तानी सम्पन्न भएको छ । बाँकी आयोजनाको भुक्तानीको प्रकियामा रहेको छ । पाँच लाख भन्दा मुनिका योजनाहरु भने वडाबाटै सम्झौता भइ काम हुने गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले गाउँपालिकाका विद्यालयहरुमा राम्रो नतिजा नआएकोले गाउँपालिकाले शिक्षामा सुधारमा ध्यान दिनपुपर्ने सुझाव राखेका थिए । साथै गाउँपालिकामा आउने सेवाग्राहीहरुका लागि निवेदन लेख्न समस्या भएको र यसका लागि सहयोगी कर्मचारी राख्नुपर्ने, सार्वजनिक जग्गा संरक्षणको अवस्था, किसानहरुको उत्पादनको बजारीकरण अनुदान, कर्मचारी नियुक्ति प्रक्रिया, शिक्षक, कर्मचारी सुरुवा प्रक्रिया, फोहोमैला शुल्क लगायतका विषयमा प्रश्न जिज्ञासा तथा सुझाव राखेका थिए । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत सम्बन्धित शाखाका प्रमुखहरुले प्रश्नको जवाफ दिएका थिए ।
