भरतपुर । चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते पहिलोपटक नेपाली ‘चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ’ हुने भएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, काठमाडौँले ‘स्वदेशमा उत्पादित चिया चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ प्रदर्शनी गर्न लागेको हो ।
यस प्रदर्शनीको सह–आयोजकमा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन, चियासँग सम्बन्धित विभिन्न संघसंस्थाहरु रहेका छन् भने प्रवद्र्धकमा भरतपुर महानगरपालिका रहेको छ ।
प्रदर्शनीको बिहान १० बजे कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ भने त्यसअघि बिहान ७ बजे नारायणगढ बजार परिक्रमा गर्ने गरी प्रभातफेरि निकालिने बोर्डले जनाएको छ । प्रदर्शनी बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।