आँबुखैरेनी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा तनहुँको आँबुखैरेनी गाउँपालिका जिल्लामै सर्वोत्कृष्ट पालिका बनेको छ । लिजामा सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९।०८० को नतिजा अनुसार आँबुखैरेनी जिल्लामै सर्वोत्कृष्ट पालिका बनेको हो । यद्यपी हालसम्म जिल्लाका १० पालिका मध्य ६ पालिकाले मात्र नतिजा सार्वजनिक गरेको छ । त्यसमध्य आँबुखैरेनी पहिलो बनेको हो ।

नजिता अनुसार आँबुखैरेनी गाउँपालिकाको नतिजा ९३.२५ अंक रहेको छ । सार्वजनिक भएका मध्य भानु नगरपालिकाको ५७.२५, भिमाद नगरपालिकाको ६४.७५, देवघाट गाउँपालिकाको ६६.५, रिसिङ गाउँपालिकाको ६६ र शुक्लागण्डकी गाउँपालिकाको ७८.५ प्रतिशत रहेको छ । नियामानुसार माघको पहिलो साताभित्र कार्यपालिकाबाट निर्णय गरि सार्वजनिक गरिसक्नुपर्ने भएपनि हालसम्म तनहुँको बन्दिपुर गाउँपालिका, ब्यास नगरपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले अझै लिजाको नतिजा सार्वजनिक गरेको छैन ।

लिजाको मापदण्ड अनुसार विभिन्न १० शीर्षकमा मापन गरि मुल्याङ्कन गर्ने गर्छ । जसमा आँबुखैरनी गाउँपालिकाले ५ वटा शीर्षकमा शत प्रतिशत नतिजा ल्याएको छ । आँबुखैरेनीले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, न्यायिक कार्य सम्पादनका साथै सहकार्य र समन्वयमा शतप्रतिशत नतिजा ल्याएको छ ।
यस्तै पालिकाले वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९०.९१%, सेवा प्रवाहमा ८९.०६%, भौतिक पूर्वाधारमा ९२.३१%, सामाजिक समावेशीकरणमा ९०% र वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७७.७८% अंक पाएको छ ।
स्मरण रहोस् आँबुखैरेनी गाउँपालिका अघिल्लो आर्थिक वर्षमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा तेस्रो भएको थियो ।
