कुरिनटार : चिवनको इच्छाकामना गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा बुधबार गाउँसभा सम्पन्न भएको हो । गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेका छन् । गाउँसभाले १०१ वटा कार्यक्रम तथा बजेट संशोधन गरिएको सभाकासचिव प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो ।उहाँका अनुसार चालुखर्च तर्फ १ करोड ५४ लाख ८० हजार कटौती गरिएको छ भने रु.५९ लाख ८० हजार विभिन्न आयोजनामा थप गरिएको छ ।
पूँजीगत तर्फ भने विभिन्न आयोजनामा १ करोड ९० लाख ८० हजार कटौती गरिएको छ भने २ करोड ८५ लाख ८० हजार थप गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत २२ वटा योजनाका लागि रु.४८ लाख स्वीकृत गरिएको प्रस्ताव सर्वसम्मतले गाउँसभाबाट पारित गरिएको छ ।
उपाध्यक्ष माया सिलवालले रकमानान्तर तथा बजेट संशोधन प्रस्ताव सभामा पेश गर्नुभएको थियो । उक्त प्रस्ताव सभाले सर्वसम्मत पारित गरिएको हो ।उक्त प्रस्तावलाई गाउँसभा अध्यक्ष दान बहादुर गुरुङले निर्णयार्थ प्रश्तुत गर्नुभएको थियो ।
गाउँसभामा वडा नम्बर ४ का वडाध्यक्षसमेत रहनुभएका भौतिक तथा पूर्वाधार विकास विभागका संयोजक रुद्रप्रसाद उप्रेतीले इच्छाकामना गाउँपालिकामा भइरहेका विकासका पूर्वाधाहरुको प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो ।
गाउँपालिकाले चालुतर्फ पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन खर्चको रु.१५ लाख घटाइएको छ । त्यसै गरि सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीको रु १० लाख, उद्धार राहत तथा पुर्नस्थापना खर्चको रु.१० लाख ,आर्थिक समृद्धिका लागि सामाजिक परिचालनबाट ७० लाख कटौती गरेका छन् । शैक्षिक संस्थाहरुलाई सहायतामा रु.१० लाख थप गरिएको छ ।साथै अस्पताल स्वास्थ्यमा कम्प्यूटर, प्रिन्टर व्यवस्थापनका साथै इच्छाकामना आधारभूत अस्पतालबाट स्वास्थ्य बीमा लागु गर्न इएमआरएस प्रविधि व्यवस्थापनमा रु.११ लाख थप गरिएको छ
पुँजीगत प्रकृतिको योजनाहरुमा पूँजीगत परामर्श खर्चको रु.१० लाख घटाइएको छ। यसैबिच चैवुङ–ढाप सडक स्तरोन्नती आरसिसि ढलानबाट रु १५ लाख , लामो झरनामा पर्यटन पूर्वाधार निर्माणबाट रु. २५ लाख र पर्यटकिय क्षेत्रहरुमा पूर्वाधार निर्माणबाट १५ लाख घटाइएको छ ।
प्रदेश तथा संघ समपुरकको गाउँपालिका तर्फको बचत रकम रु. ७० लाख रहेकाले अन्य आयोजना कार्यन्वयन गर्न प्रस्ताव गरिएको छ, वाइनटुवाटरसँग साझेदारीका लागि अपुग रकम रु.८३ लाख , कुरिनघाट बजार मोज्याक टायल छाप्न रु.६ लाख , वडा नम्बर ३ को कार्यालय पूर्वाधार निर्माणमा रु.१४ लाख , वडा नम्बर ६ को कार्यालय पूर्वाधार निर्माणमा रु.२३लाख, पिपलटारचोक बङ्गुर फर्म सडक स्तरोन्नतीमा रु.६ लाख, प्रकोप व्यवस्थापन कोषमा अनिवार्य दायित्वको रु. १० लाख, मायाटार गुरुङ होमस्टे सम्पन्न गर्न रु. ६ लाख, आर्थिक वर्ष २०७९/८० मा सम्झौता भई अनिवार्य दायित्व सिर्जना भएका भुक्तानीहरुको दिन बाँकी भुक्तानीका लागि रु. २६ लाख थप गरिएको छ ।
चालु आर्थिक बर्षमा योजना कार्यन्वयनको अवस्था तीब्र गतिमा अगाडी बढीरहेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा भौतिक पूर्वाधारका विभिन्न योजना कार्यन्वयनका गर्न उपभोक्ता समिति मार्फत हुन नसकेका र चालु प्रकृतिका अन्य समानिकरण अनुदान शिर्षकमा विनियोजन भएका कार्यक्रम तथा शिर्षकहरुबाट रकमानान्तर गर्ने गरि रकमान्तर तथा संशोधन गरिएको गाउँपालिकाले जनाएको छ ।