स्याङ्गदी । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ मा मा अवस्थित चण्डेश्वरी राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वैदेशीक रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका १ दर्जन नेपालीहरुको सहयोगमा संकलित रकमबाट स्याङ्गदीमा रहेको उक्त विद्यालयका विद्यार्थीहरुको लागि आज न्यानो कपडा वितरण गरिएको हो ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङको विशेष उपस्थिति तथा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक निशा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत १४४ जना विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरिएको हो ।

विद्यार्थीहरुको लागि वितरण गरिएको न्यानो कपडाको लागि दक्षिण कोरिया र अमेरिकामा रहेका नेपालीहरु आर्थिक सहयोग गर्नुभएको गाउँपालिकाका रोजगार शाखाको संयोजक समेत रहनुभएका सामाजिक अभियन्ता आकाश शेरचनले बताउनुभयो । उहाँका अनुसार न्यानो कपडा खरिदका लागि दक्षिण कोरियामा कार्यरत राम तामाङले ८ हजार, सोनाम के. शेर्पाले ५ हजार, सुवास दोङले ५ हजार, छिरिङ शेर्पा पिनासाले ९ हजार, जाम्बा शेर्पाले २ हजार, लाक्पा टि शेर्पाले २ हजार, शेर्पा दाईले २ हजार, निमा ह्योल्मोले ५ हजार ९ सय, लाक्पा डोल्मा लामा (ह्योल्मो)ले ५ हजार, पेम्बाकी शेर्पा फुजोंगोले १० हजार १ सय, पासाङ साल्मा लामाले २ हजार अमेरिकामा बसोबास गर्नुहुने पासाङ शेर्पाले १० हजार गरि ६६ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

उहाँहरुले गर्नुभएको आर्थिक सहयोगबाटै १४४ जना विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेको समन्वयकर्ता सामाजिक अभियन्ता आकाश शेरचनले बताउनुभयो ।
कपडा वितरण कार्यक्रमलाई सम्बोन्धन गर्दै आफ्नो गाउँपालिकाको विद्यालयमा रहेका साना नानीबाबुहरुको लागि यो जाडोमा न्यानो कपडा सहयोग गरिदिनुभएकोमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।