बुटार । गोरखाको गण्डकी गाउँपालिकाले वडा नं. १ स्थित बुटारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८०।८१ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार बुटारमा सम्पन्न भएको हो।
गाउँपालिकाले गाउँ कार्यपालिका र मातहतका कार्यालयहरूको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा जनताको गुनासो सुन्न पृष्ठपोषण लिने उदेश्यले वडा नम्बर १ बुट्टारमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
कार्यक्रममा दर्जनौ सहभागीहरुले जनप्रतिनिधि र कर्मचारीहरु सामु पालिकाले वितरण गर्ने अनुदानमा पक्षपात गरेको, विकाश निर्माणका कामहरुमा जनप्रतिनिधिले राम्रोसँग अनुगमन नगरेको, प्राकृतिक स्रोत साधनको जथाभावी दोहन हुदाँ पनि गाउँपालिकाले आवश्यक कारवाही नगरेको, पालिकाको खरिद प्रक्रिया पारदर्शी नभएको जस्ता गुनासोहरु राखेका थिए । नागरिकहरुले राखेको प्रश्न तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सना ‘साकार’, उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटी, वडाध्यक्षहरु, विभिन्न शाखाका प्रमुखहरु लगायतले जवाफ दिएका थिए ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले सबै जनताको गुनासो सुन्न, समस्याको सामाधान गर्नका लागि र सेवाग्राहीबाट पृष्ठपोषण लिन यस पटक वडा नम्बर १ मा सार्वजनिक सुनुवाई गरिएको बताउनुभयो । आगामी सार्वजनिक सुनुवाई पनि अन्य वडामा पालैपालो गरिने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’को सभापतित्वमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण भने सामुदायिक रेडियो इच्छाकामना एफएम १०२.४ मेगाहर्ज कुरिनटारले गरेका थिए ।