आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ५ रसौलीमा जलवायु परिवर्तन सम्बन्धी दुई दिने तालिम संचालन भएको छ । आदिवासी जनजाति महिला महासंघ संघिय समितिको आयोजना तथा आदिवासी जनजाति महिला महासंघ गण्डकी प्रदेश समन्वय परिषद् र नेपाल चेपाङ महिला संघको समन्वयमा तालिम संचालन भएको हो ।
फिमि संस्थाको आर्थिक सहयोगमा संचालित तालिममा विशेष गरेर स्थानीय चेपाङ समुदायको महिलाहरुलाई जलवायु परिवर्तन सम्बन्धि तालिम दिईएको समन्वयकर्ता नेपाल आदिवासी जनजाति महिला महासंघ गण्डकी प्रदेश समन्वय परिषद्का सचिव मिलन भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा तालिमको अलावा आदिवासी जनजाति महिलाहरुको चेपाङ महिलाहरुको समूह चेपाङ मोमचो समूह समेत गठन गरिएको थियो भने उक्त समूहलाई सिड मनि वापत ३५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

तालिममा स्थानीय चेपाङ महिलाहरुले जलवायु परिवर्तनले पारेको असरहरु बारे चर्चा गर्दै यसको समाधान कसरी गर्न सकिन्छ भनी सहजकर्ताहरुसँग प्रश्न राखेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघका विदेशी परियोजना सचिव सनम राजवंशी र लेखा तथा प्रशासन अधिकृत मीना लामाले सहभागीहरुलाई तालिम बारे सहजीकरण गर्नुभएको थियो ।
तालिममा स्थानीय २४ जना महिलाहरुको सहभागिता रहेको थियो ।