आँबुखैरेनी- करिब डेढ वर्ष अघि गण्डकी प्रदेश सरकारको योजना अनुरुप तनहुँको आँबुखैरेनी गाउँपालिका ३ मा स्थापना बाहिरबाट आएका तरकारी र फलफुलहरुमा विषादीको मात्रा परिक्षण गर्ने अभिप्रायले विषादी द्रुत विश्लेषण प्रयोगशालाको स्थापना गरियो।
प्रयोगशालामा प्राविधिक सहायक दिनकरमणि आचार्य कर्मचारीको रुपमा आए। आचार्य आफै सडकमा निस्किएर तरकारी बोकेको सवारी रोक्नुहुन्छ। तरकारी बोकेर आएको गाडीमा विषादीको मात्रा परीक्षण गर्न आफै नमुना संकलन गर्नुहुन्छ। आचार्यको दैनिकी डेढ वर्षदेखि यसरी नै चलिरहेको छ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा एक्लो प्राविधिक भएकाले उहाँलाई यो कामको बाध्यता छ। एक्लो कर्मचारीको भरमा प्रयोगशाला सञ्चालन हुदाँ समस्या भैरहेको आचार्यले बताउनुभयो।
तरकारी लगायत खाद्यान्नमा हुने विषादी न्युनिकरण गर्दै विषादी रहित तरकारी प्रदेशभित्र भिœयाउने उद्देश्यले गण्डकी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २०७६ साल वैशाख ८ गते गण्डकी प्रदेश प्रवेशको प्रवेशद्वार आँबुखैरेनी बजारमा उक्त प्रयोगशाला स्थापना गरेको थियो। स्थापनाकालदेखि नै आचार्यले तरकामी विषादीको मात्रा परिक्षण गर्दै आउनुभएको छ।
‘हालसम्म अन्य कर्मचारीको व्यवस्था नहुदाँ एक्लै काम गरिरहेको छु, सबै काम एक्लै गनुृपर्दा समस्या हुने रहेछ’ आचार्यले भन्नुभयो ‘तरकारीको नमुना संकलन गर्नेदेखि परीक्षण गर्नेसम्मको काम गर्नुपर्छ।’ विशेषगरी रातको समयमा तरकारी बोकेका सवारी प्रदेश भित्रिने भएकाले रातिको समयमा प्रयोगशालामा विषादीको परीक्षण हुदै आएको छ। ‘कार्यालयमा म बाहेक एक जना महिला कर्मचारी कार्यालय सहयोगीको रुपमा हुनुहुन्छ’ आचार्यले भन्नुभयो ‘उहाँलाई रातिमा कामममा बोलाउन पनि अप्ठ्यारो भएकाले सबै काम एक्लै गर्दै आएको छु।’
तरकारीमा विषादी भए÷नभएको परीक्षण गर्न प्रयोगशालमा २० मिनेट लाग्ने गर्छ। ३५ देखि ४५ प्रतिशत भन्दा बढी विषादी भए उक्त तरकारीलाई क्वारेन्टिनमा राखिन्छ। ‘त्यस्ता तरकारी तीनदेखि चारदिनसम्म क्वारेन्टिनमा राखेर तीन दिन नै पुनः परीक्षण गरिन्छ, त्यस बीचमा विषादीको मात्रा घट्यो भने तरकारी पठाउने नभए नष्ट गर्ने गरिएको छ’ आचार्यले भन्नुभयो ‘४५ प्रतिशत भन्दा माथि आयो भने क्वारेन्टिनमा राखेर दुई पटक परीक्षण गरिन्छ, त्यसबीचमा पनि विषादीको मात्रा नघटे नष्ट गरिन्छ।’
एक्लै हुदाँ समस्या भएपछि कर्मचारीको दरवन्दी थप गर्न मन्त्रालयमा अनुरोध गरिएको आचार्यले बताउनुभयो। ‘मन्त्रालयमा पटक पटक यस बारेमा जानकारी गराएको छु’ उहाँले भन्नुभयो ‘चालु आर्थिक वर्षमै कार्यालय व्यवस्थापनको काम हुने र कर्मचारी दरबन्दी थप हुने आशा छ।’ अस्थायी रुपमा स्थापना भएको प्रयोगशाला स्थायी रुपमा सञ्चालन गर्न प्रक्रिया सुरु भएको आचार्यले बताउनुभयो।
लकडाउनपछि पुनः सुरु भयो परीक्षण
कोभिड–१९ का कारण भएको बन्दाबन्दीका कारण रोकिएको विषादी परीक्षण शनिबारबाट पुनः सुरु भएको छ। शनिबार ६ वटा सवारी साधनमा ल्याइएका तरकारीको विषादीको मात्रा परीक्षण गरिएको छ। परीक्षण गरिएको तरकारी विषादी रहित पाईएको छ।
‘पहिला नियमित परीक्षण हुदै आएकामा लकडाउनका कारण समस्या भएर रोकिएको थियो’ उहाँले भन्नुभयो ‘अब नियमित सुचारु हुन्छ।’ आचार्यका अनुसार एकदिनमा बढीमा २० वटा सवारीमा ल्याइएका तरकारीको विषादीको मात्रा परीक्ष्ण गरिएको छ। आँबुखैरेनी गाउँपालिकाको मुख्य बजारमा भाडामा लिएर कार्यालय सञ्चालन हुदै आएको छ।
प्रयोगशाला स्थापनको क्रममा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले प्रयोगशालाका लागि तत्कालै कर्मचारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। तर कार्यालय स्थापनको डेढ वर्षसम्म पनि प्राविधिक थप हुन सकेको छैन।
प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारी लगायतका खाद्य पदार्थ परीक्षण गर्ने लक्ष्य राखिएको थियो। सरकारले स्याङ्गजाको गल्याङ नगरपालिकाको मालुङ्गामा समेत प्रयोगशाला स्थापना गरेको छ।
तनहुँको आँबुखैरेनी र स्याङ्गजाको मालुङ्गामा स्थापना भएको द्रुत विषादी अवशेष परीक्षण केन्द्रलार्य स्रोत साधन सम्पन्न बनाउन प्रदेश सरकारले चालु आर्थिक वर्षमा २ करोड १९ लाख बजेट विनियोजन गरिसकेको छ। प्रयोगशालालाई पशुपंक्षी रोग नियमन गर्ने प्रयोगशालाको रुपमा समेत सञ्चालन गर्ने सरकारको लक्ष्य छ।
खबरपुन्ज डटकमबाट