Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालीलाई म्यानमारमा पुर्‍याउदै, ‘साइबर दास’ बनाउदै मानवतस्करी

नेपालीलाई म्यानमारमा पुर्‍याउदै, ‘साइबर दास’ बनाउदै मानवतस्करी

पत्रपत्रिका

२७, मंसिर २०८०
नेपालीलाई म्यानमारमा पुर्‍याउदै, ‘साइबर दास’ बनाउदै मानवतस्करी
images

काठमाण्डौ । द्वन्द्वग्रस्त मुलुक म्यान्मारमा ‘साइबार दास’ को रूपमा मानव तस्करी हुन थालेको छ। नेपालीलाई थाइल्यान्डमा आकर्षक रोजगारीको प्रलोभन देखाएर म्यान्मार पुर्‍याउने गरिएको हो। २ लाख ६० हजार रूपैयाँ तिरेर म्यान्मार पुगेका नेपालीले त्यहाँ बन्धक बनाइएपछि स्वदेश फर्कन ८ लाखसम्म तिर्नुपरेको छ। म्यान्मारमा ‘साइबर दास’ का रूपमा बन्धक बनाइएका नेपालीले स्वदेश फर्केर आएपछि नेपाल प्रहरीको मानव बेचविखन ब्युरोमा दिएको उजुरीअनुसार जान २ लाख र फर्कन ८ लाख खर्च भएको देखिन्छ।

images
images

चिनियाँसहितको गिरोहले नेपालीलाई साइबर दास बनाउन म्यान्मार पुर्‍याउने गरेको रहस्य खुलेको छ। ब्यरोेले शनिबार बुद्ध तामाङ र आइतबार कविता गुरुङलाई पक्राउ गरेपछि साइबार दासको रहस्य खुलेको हो। ब्युरोले यसअघि म्यान्मार पाठाउने गिरोहका श्रीकृष्ण घले, वाङो लामा र प्रेमा लामालाई पक्राउ गरेको थियो। ब्युरोका प्रमुख जीवन श्रेष्ठले गिरोहका अन्य सदस्यको खोजी भइरहेको बताए। उनले गिरोहले थाइल्यान्डमा आकर्षक जागिर मिलाइदिने भन्दै म्यान्मार पुर्‍याएर साइबर अपराधमा लगाउने गरेको बताए। ‘नेपाली गिरोहले आकर्षक रोजगारीको प्रलोभनमा म्यान्मार पुर्‍याएर बन्धक बनाई २४ सै घण्टा साइबर अपराधमा लगाउने गरेको पाइएको छ। त्यहाँबाट फर्कन पनि गिरोहले फिरौती माग्ने गरेको पाइएको छ’, एसएसपी श्रेष्ठले भने।  

म्यान्मारमा आन्तरिक द्वन्द चलिरहेका कारण त्यहाँका जनता थाइल्यान्डलगायत छिमेकी मुलुकमा पलायन भइरहेका बेला नेपालबाट मानव तस्करी हुन गरेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार आइतबार पक्राउ परेकी गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङ रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जनालाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याइएको थियो। उनीहरूलाई बन्धक जस्तै बनाएर दिनमा २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाइएको थियो।

जागिरको प्रलोभन्मा म्यान्मार पुर्‍याएर बन्धक बनाइएका ती दुई युवक धादिङका थिए। उनीहरूले म्यानमारबाट फर्किएपछि गुरुङविरुद्ध ब्युरोमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले बताए। जनही २ लाख ६० हजार रूपैयाँ लिएर उनीहरूलाई म्यान्मार पठाइएको थियो। म्यान्मारस्थित चिनियाँ कम्पनीमा पुर्‍याएपछि उनीहरूलाई फेसबुक, ह्वाटसएप, एक्सजस्ता सामाजिक सञ्जालबाट अमेरीकी र युरोपेली नागरिकलाई अनलाइनमार्फत बिटक्वाइनलगायतका भर्चुअल करेन्सीमा लगानी गर्न आकर्षित गर्न तालिम दिइएको थियो।  

पीडितका अनुसार तोकिएको अवधिमा तोकिएको काम गर्न नसके शारीरिक र व्यावसायिक यातना दिइन्थ्यो। कम्पनीमा चारैतिर सुरक्षा गार्ड राखिएकाले आफूखुशी बाहिर निस्कन नपाइने उजुरीमा उल्लेख छ। म्यानमार पुगेको ९ महिनापछि उक्त कम्पनीलाई आठ लाख बुझाएर आफूहरू फर्किएको उनीहरूले बताएका छन् । म्यान्मारमा मानव तस्करी गर्ने गिरोह अरू पनि भएकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ। ‘एजेन्टले वैधानिक तरिकाबाटै लाओस पुर्‍याउने भनेपछि हामी गयौं,’ उनले भने, ‘तर लाओस पुगेपछि मात्र थाहा भयो, हामीलाई अनलाइन स्क्यामिङमा लगाउन लगिएको रहेछ।’  

ती पीडितका अनुसार यो धन्दामा चिनियाँ गिरोह सक्रिय छ। ब्युरोका अनुसार पछिल्लो एक वर्षमा म्यानमारमा मानव तस्करीसम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ। मुद्दाका आरोपितमा तीनजना चिनियाँसमेत छन्। उनीहरूले दोभाषेमार्फत एजेन्ट राखेर नेपालीलाई अवैध रूपमा म्यानमार पठाएर साइबर ठगी धन्दामा लगाउने गरेको प्रहरी दाबी छ। म्यानमार पुर्‍याएमा करिब ६० नेपाली जनही ८ लाख फिरौती तिरेर स्वदेश फर्केको प्रहरीको अनुमान छ।  

चिनियाँ गिरोहले म्यानमार सरकारका अधिकारीलाई आर्थिक प्रभावमा पारी साइबर ठगीका अखडासँगै यौन धन्दा गराउने कोठी खोलेको प्रहरीको आशंका छ। केही साताअघि म्यान्मारबाट थाई महिलाको उद्धार गरिएको थियो। ‘म्यान्मारबाट थाई र अन्य छिमेकी मुलुकका महिलालाई उद्धार गरेको देखिन्छ’, ब्युरोका एक अधिकारीले भने । नागरिक दैनिकबाट

images
प्रकाशित मिति :मंसिर २७, २०८० बुधवार - ०७:०९:०४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology