चण्डिभञ्ज्याङ । ग्रामीण भेगका लागि आधारभूत अस्पताल हो, स्वास्थ्यचौकी । ठूलो अस्पताल पुग्नुभन्दाअगाडिको प्राथमिक उपचार स्वास्थ्यचौकीमै हुने गर्छ । त्यसैले पनि अस्पतालजस्तो संवेदनशील क्षेत्र हरेक प्रकारका नागरिकका लागि पहुँचयोग्य हुनुपर्छ । तर, इच्छाकामना गाउँपालिकाको वडा नं–६, ढुङ्ग्रेमा रहेको चण्डिभञ्ज्याङ स्वास्थ्यचौकी आउजाउ गर्न सामान्य नागरिकलाई पनि सहज छैन ।
श्री माध्यमिक विद्यालयको पश्चिम किनारबाट पछाडिपट्टि रहेको स्वास्थ्यचौकी पुग्नुपर्छ । तर, बाटो सजिलो छैन । स्थानीय तहको केन्द्र तोकिँदा सबैभन्दा पहिले इच्छाकामना गाउँपालिकाको केन्द्र तोकिएको ठाउँ हो चण्डिभञ्ज्याङ । स्वास्थ्यचौकी र विद्यालयभन्दाअगाडि पुरानो गाविस भवन अलपत्र अवस्थामा छ । गाउँपालिकाको केन्द्र कुरिनटार पुगेपछि पुरानो भवन प्रयोगविहीन भएर बसेको छ । अहिले छानो पनि हावाले उडाइदिएपछि चार भित्तोमात्रै बाँकी छ ।
जलविरेबाट चण्डिभञ्ज्याङ हुँदै तुन्तेश, इच्छाकामना र उपरदाङगढी जाने बाटो यहीँबाट छुट्टिन्छ । सडक बाटोको दायाँपट्टि थुम्कोमा छ श्री माध्यमिक विद्यालय र विद्यालयको पछाडि छ चण्डिभञ्ज्याङ स्वास्थ्यचौकी । विद्यालयको पछाडि भएकोले पनि स्वास्थ्यचौकीसम्मको बाटो असहज बनेको हो । किनकि पहिले पहिले विद्यालयको घेराबार नहुँदा विद्यालयकै आँगनबाट स्वास्थ्यचौकी आउजाउ गर्थे स्थानीय । स्थानीय पत्रकार चित्र ‘सोल्टी’ गुरूङका अनुसार विद्यालयका लागि भौतिक संरचना आवश्यकताअनुसार थप हुँदै जाँदा स्वास्थ्यचौकी जाने बाटो छेउ लागेको हो ।
विद्यालयले भौतिक संरचना निर्माण गर्नुका साथै संरक्षणका लागि तारजाली लगाएपछि स्वास्थ्यचौकी जाने बाटो थप असहज बनेको हो । स्वास्थ्यचौकी प्रमुख तोयानाथ दुवाडीले स्वास्थ्यचौकीजस्तो संवेदनशील क्षेत्रमा पैदलमार्ग नै सहज बनाइदिए पनि सेवाग्राहीलाई धेरै नै राहत हुने बताए । ‘स्वास्थ्य संस्था त अपाङ्गमैत्री, महिलामैत्री, बालमैत्री हुनुपर्छ भन्छन्, हाम्रो स्वास्थ्यचौकी त के मैत्री के मैत्री, हेर्दै जिल्ल पर्ने खालको छ’, उनले भने, ‘त्यसैले कम से कम स्थानीय सरकारले स्वास्थ्यचौकीसम्म बाटो कसरी लैजाने भन्ने विषयमा ध्यान दिनु जरूरी छ ।’
स्थानीय सरकार आएको दोस्रो कार्यकालको पनि डेढ वर्ष समय बितिसक्यो । तर, यो स्वास्थ्यचौकीको भौतिक संरचना र सडक सञ्जालको विषयमा जनप्रतिनिधिले चासो नदेखाउँदा समस्या जहाँको तहीँ छ । स्वास्थ्यचौकी आउने बाटोको असहजताले गर्दा पनि गाउँकै सेवा लिन स्थानीयले झन्झट मान्ने गरेको स्वास्थ्यचौकी प्रमुख दुवाडीले बताए । ‘एक जना बिरामीलाई स्ट्रेचरमा राखेर ल्याउनुप¥यो भने बाटै छैन’, उनले भने, ‘यस्तो दयनीय अवस्था कुनै पनि स्वास्थ्यचौकीमा छैन होला ।’
श्री माध्यमिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापक विश्वनाथ गुरूङले पनि स्वास्थ्यचौकी आउने बाटोको विषयमा स्थानीय सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । ‘स्वास्थ्यचौकी आउने भनेकै बिरामी भएर हो’, उनले भने, ‘बिरामी हिँड्ने बाटो स्वस्थ मान्छे हिँड्न सक्नेजत्तिको पनि छैन । त्यसैले, सरकारी निकायबाट यसतर्फ ध्यान दिनु आवश्यक छ ।’
गाउँपालिकाले भने यस विषयमा ध्यान केन्द्रित भएको बताएको छ । जतिसक्दो चाँडो स्वास्थ्यचौकीसम्म आइपुग्ने सडक बाटो निर्माण गर्ने गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले आश्वासन दिए । भूगोलको संरचना हेर्दा विद्यालयको अगाडिबाट बाटो खन्न मिल्ने अवस्था छैन । त्यसैले, विद्यालयको पछाडि चण्डिभञ्ज्याङबाट बडहरे जाने बाटोबाट माथि उकाल्न सकिने गाउँपालिकाका अध्यक्ष गुरूङले बताए ।
स्वास्थ्यचौकी प्रमुख तोयानाथ दुवाडीका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा यो स्वास्थ्यचौकीबाट दुई हजार १८९ जनाले सेवा लिएका छन् । साउनमा ४५१, भदौमा ५३६, असोजमा ६१९ जना र कात्तिकमा ५८३ जनाले सेवा लिएको उनले बताए । चितवनपोष्टबाट