फिस्लिङ । पृथ्वीराजमार्ग अन्तरर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ देखि तोक्दाङ सम्म ९ किलोमिटर सडकको नयाँ ट्रयाक खन्ने काम आज भन्दा १५ वर्ष अघि वि.स. २०६५ मा भयो । तत्कालिन दारेचोक गाविसले ५० हजार बजेट विनियोजन गरि सडकको नयाँ ट्रयाक खन्ने काम सुरु गरेका थिए ।
उक्त ५० हजारबाट सडकको ट्याक खन्न सम्भव थिएन । स्थानियले चन्दा उठाएर ट्रयाक खन्ने काम सम्पन्न गरे । सो ट्रयाक खन्ने काममा मनकामना दर्शन प्रा लि ले पनि साथ दिए । स्थानिय लोक बहादुर गुरुङका अनुसार मनकामना दर्शन प्रा लि ले सडक खन्ने एउटा मेसिन उपलब्ध गराएका थिए । फिस्लिङदेखि इच्छाकामना सम्म ट्रयाक खन्न ३६ लाख लागेको स्थानीय शिक्षक लोक बहादुर गुरुङले बताउनुभयो ।
१५ बर्ष अघि ट्रयाक खनेर गाडी गुड्न थालेको यस ग्रामिण सडकमा यात्रा भने सधैँ जोखिपूर्ण रहेको छ । हिउँदमा केही सहज भए पनि भरपर्दो नाली, वाल नहुदाँ बर्षायाममा निकै जोखिम रहेको र नियमित सवारी साधन जान सक्ने अवस्था नहुने उहाँको भनाई छ ।
स्थानिय गुरुङले भन्नुभयो, “सडक निर्माण गरेको १५ वर्ष भयो, सडक स्तरोन्नती नहुँदा जोखिम यात्रा गर्न बाध्य छौँ, हिउँदमा केही सहज भए पनि बर्खामा भने नियमित सवारी नै चल्न सक्ने अवस्था रहदैँन” । उहाँका अनुसार यस भेगमा वर्षायाममा उत्पादन हुने तरकारीहरु बजार सम्म लैजान समस्या हुने गरेको छ । इच्छाकामनाको तोक्दाङ, माझ गाउँ लागयत गाउँहरु सुन्तला र तरकारी खेतीका लागि उर्वर भूमि मानिन्छ । यस भेगका स्थानियहरुको मुख्य अम्दानीको श्रोत सुन्तला र तरकारी खेती हो ।
गाउँपालिकाले माँझ गाउँलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेका छन् । सडक सहज नहुँदा यहाँका स्थानिय किसानहरु मर्कामा परेका छन् ।
नौ करोड खर्चिए पनि सडक उस्तै
उक्त सडक खण्ड अन्तरगत फिस्लिङदेखि तोक्दाङ सम्म नौ किलोमिटर वि.स. २०७४ मा नौ करोड खर्चिएर स्तरोन्नती गरिए पनि एक वर्ष पनि टिक्न सकेन । वर्ष दिन नपुग्दै सडक पुरानै अवस्थामा आएको स्थानियको भनाई छ । ग्रामिण सडक सञ्जाल सुधार आयोजना अन्तरर्गत उक्त ९ किलोमिटर सडकको स्तरोन्नतीको काम भएका थिए । ग्राबेल, वाल, नाला निर्माण लगायतका काम भएका थिए । ती नाली, वाल र ग्राबेल भत्किएका छन् । धार्मिक पर्यटकीय स्थल इच्छाकामना मन्दिर जाने यस मुख्य ग्रामिण सडकको स्तरोन्नतीका लागि प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यस सडक स्तरोन्नतीका लागि गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो। तत्काल गाउँपालिको बजेटबाट एक किलो मिटर सडक पिच गर्ने काम भइरहेको र बढी जोखिम रहेको स्थानहरुमा ढलान गरिने बताउँनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो,“इच्छाकामना मन्दिर जाने यस सडकलाई हामीले प्राथमिकतामा राखेका छौँ, पिचका लागि केन्द्र र प्रदेशमा पहल गरेका छौँ, तत्काल गाउँपालिकाको बजेटले एक किलो मिटर पिच गर्ने काम भइरहेको छ भने अप्ठ्यारा खण्डहरुमा ढलान गर्ने छौँ ।” फिस्लिङ–शक्तिखोर ग्रामिण सडक आयोजना भित्र पर्ने यस सडक पिचका लागि छुट्याएको बजेट समेत आर्थिक अभाव रहेको भन्दै अर्थ मन्त्रालयले रोकेको उहाँको भनाई छ ।