गोरखा । गोरखामा मानव बेचबिखन तथा ओसार–पसारको आरोपमा गोरखामा एक महिला पक्राउ परेकी छन् । मानव सेवा आश्रमका दुई बालिकाहरुलाई काठमाण्डौं लगी जागिर लगाई दिने भनि ललाई फकाई गरि गुम्बामा लगेर राखेको आरोपमा धार्चे गाउँपालिका वडा नं।७ घर भई गोरखा गोरखा नगरपालिका वडा नं।६ बस्ने बर्ष २७ की बिषमाया गुरुङ पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार १६ बर्षकी ती दुई बालिका आश्रममा नआएपछि खोजतलास गर्दा गोरखा नगरपालिका वडा नं।७ सतिपिपल स्थित निर्माणधिन गुम्बामा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए । काठमाण्डौं लगी जागिर लगाई दिने भनि ललाई फकाई उक्त गुम्बामा लगी राखेको भनि बालिकाहरुले बताएपछि आश्रम सञ्चालिका मुना लामाले जाहेरी दिएकी थिइन् ।
बिषमायालाई आइतबार पक्राउ गरि मानव बेचबिखन तथा ओसार पसार उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई घटनाको थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सुचना अधिकारी प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।