काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र राजतन्त्र पुनर्स्थापना गर्ने अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले बिहीबार काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। प्रशासनले दुवै समूहलाई प्रदर्शन गर्ने स्थान तोकिदिएको छ।
बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ। सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ। सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन्। दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन्।
प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले बताएको छ। प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १,५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन्। काठमाडौंमा २,६३७, ललितपुरमा ५६४ र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ। ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन्।