Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

'एक वडा, एक उत्पादन'अन्तर्गत तनहुँको आँबुखैरेनीमा एभोकाडो खेती सुरु

'एक वडा, एक उत्पादन'अन्तर्गत तनहुँको आँबुखैरेनीमा एभोकाडो खेती सुरु

रासस

१०, कार्तिक २०८०
'एक वडा, एक उत्पादन'अन्तर्गत तनहुँको आँबुखैरेनीमा एभोकाडो खेती सुरु
images

आँबुखैरेनी । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । 

images
images

‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका १ हजार ८ सय ४० बिरुवा लगाइएको हो । कृषकलाई ७५ प्रतिशत अनुदानमा १ हजार ८ सय ४० वटा एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा बताउँछन् ।

उक्त बिरुवा रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषकलाई यसतर्फ आकर्षित गराइएको हो । फलफूल क्षेत्र विकास कार्यक्रमअन्तर्गत तनहुँमा पनि एभोकाडो खेतीलाई समावेश गरी प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

कार्यालयका अनुसार गत वर्षदेखि यसको बिरुवा उत्पादन गरेर खेती सुरुआत गरिएको हो । समुद्री सतहदेखि २ सय सय मिटरदेखि १ हजार ६ सय मिटर उचाइमा यसको खेती गर्न सकिन्छ । उक्त खेतीका लागि  सुहाउँदो हावापानी तनहुँमा छ । 

गत वर्ष केन्द्र आफैँले २ हजार बिरुवा उत्पादन गर्नाका साथै बाहिरबाट थप २ हजार बिरुवा ल्याएर ४ हजार बिरुवा कृषकहरूलाई वितरण गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले बताए । यो खेती तराईदेखि पहाडसम्म गर्न सकिन्छ । कागती तथा केरा हुने क्षेत्रमा यसको खेती राम्रो हुन्छ ।

बाँझो जमिन सदुपयोग गर्न एभोकाडोको खेती गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउँछन् । स्थानीय वडावासीलाई उत्पादनसँग जोड्न र आयमूलक बनाउन गाउँपालिकाले 'एक वडा, एक उत्पादन' कार्यक्रमलाई प्राथमिकता दिँदै आइएको उनको भनाइ छ ।

एभोकाडोमा प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने र उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि अति नै लाभदायक फलको रूपमा लिइन्छ । 

उक्त फल बजारमा थोक प्रतिकिलो २ सय र खुद्रा प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् । एभोकाडोको जुस बनाएरसमेत खान गर्न सकिन्छ । ठूला होटल, पर्यटक र शहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रूपमा उपभोग गर्न थालेका छन् ।  

images
प्रकाशित मिति :कार्तिक १०, २०८० शुक्रवार - २१:५५:०१ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology