Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मनीषको गोलबाट नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा

मनीषको गोलबाट नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा

images

पत्रपत्रिका

१, कार्तिक २०८०
मनीषको गोलबाट नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा
images

काठमाण्डौ । मनीष डाँगीको उत्कृष्ट गोल प्रेरणामा नेपाल मंगलबार लाओसलाई हराउँदै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान बनाउन सफल भएको छ ।

छनोटको प्रारम्भिक चरणको दोस्रो लेगमा लाओसमाथि १–० को जितसँगै नेपाल समग्रमा २–१ को नतिजासहित दोस्रो चरणमा स्थान बनाउन सफल भएको हो । अब नेपाल दोस्रो चरणको समूह ‘एच’ मा संयुक्त अरब इमिरेट्स (युएई), यमन र बहराइनसँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणमा एक अर्कासँग होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गरेपछि समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन् । नेपालको यात्रा आगामी नोभेम्बर १६ मा युएईसँगको खेलबाट सुरु हुनेछ । न्यु लाओस नेसनल स्टेडियममा मंगलबार नेपालले घरेलु टोली लाओसलाई १–० को साँघुरो अन्तरले हराउँदा मनीषको गोल निर्णायक बन्यो ।  

त्यसअघि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो लेग १–१ को बराबरीको नतिजा सामना गरेको थियो । दोस्रो लेगमा भने सुधारिएको प्रदर्शन गरेपछि नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो लेगमा नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले तीन खेलाडी परिवर्तन गरेका थिए । घरेलु मैदानमा सम्पन्न पहिलो लेगको खेलमा दोस्रो रोजाइमा रहेका उत्सव राई, एरिक विष्ट र दिनेश हेन्जनलाई एनेसेले अवसर दिए । पहिलो लेगमा दोस्रो हाफमा मैदान प्रवेश गरेपछि यी खेलाडीले राम्रो छाप छाडेका थिए ।  

त्यसैले नेपालका इटालियन प्रशिक्षकले उनीहरूलाई घरेलु टोलीविरुद्ध सुरुआती अवसर दिए । उनको त्यो निर्णयले नेपालले सुधारिएको प्रदर्शन पनि गर्यो । यद्यपि, फिफाको १७५औं स्थानमा रहेको नेपालले १८६औं स्थानमा रहेको लाओसविरुद्ध जित निकाल्न निकै संघर्ष भने गर्नुपर्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा मनीषले उत्कृष्ट वान टच गोल गर्दै नेपाललाई अग्रता दिलाए । त्यो गोल नै नेपाललाई लाओसविरुद्ध चौथो जित निकाल्न पर्याप्त भयो । लाओससँगको पाँचौं भेटमा नेपालको यो चौथो जित हो । एक खेलको नतिजा भने बराबरी भएको छ । दोस्रो लेगमा पनि अञ्जन विष्ट नेपालका लागि महत्त्वपूर्ण खेलाडी बने । पहिलो लेगमा उनकै गोलबाट नेपालले बराबरी गरेको थियो । यसपटक उनकै पासमा भएको गोल नेपाललाई दोस्रो चरणमा प्रवेश गराउन पर्याप्त बन्यो । मनीषले ५३औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । देशका लागि मनीषको यो तेस्रो गोल हो । अञ्जनले लेफ्ट कर्नरबाट ड्रिब्लिङ गर्दै पेनाल्टी बक्सबाट दिएको बललाई मनीषले वान टचमार्फत पोस्टको दिशा दिएका हुन् ।

त्यसपछि दुवै तर्पmबाट गोलका लागि धेरै प्रयास भए पनि सफल भएन । खेलको अन्तिम समयतिर नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले नजिकैबाट घरेलु टोलीका खेलाडीको प्रहार उत्कृष्ट बचाउ गर्दै नेपालको अग्रता जोगाइ राखे । उनको त्यो प्रयास नै नेपाललाई लाओसविरुद्ध प्रारम्भिक छनोटमा पहिलो जितका लागि पर्याप्त बन्यो । त्यसअघि १८औं मिनेटमा मिकेल भानको शक्तिशाली प्रहार गोलकिपर किरणकुमार लिम्बुले बचाएपछि नेपालको खतरा टर्यो ।  

२२औं मिनेटमा उत्सव राईको क्रसमा पेनाल्टी बक्सभित्र अञ्जनको हेडरले पोस्टको दिशा लिन सकेन । २९औं मिनेटमा फौथाभोङ साङभिलेको पासमा चोनी वानपासेर्थको प्रहार बाहिरिँदा लाओसले अर्को सुनौलो अवसर गुमाउन पुग्यो । पहिलो हाफमा दुवै तर्पmबाट थप प्रयास भए पनि गोल सम्भव भएन र बराबरीमा सकियो । ४८औं मिनेटमा मनीषको प्रहार गोल पोस्टको नजिकैबाट बाहिरिन पुग्यो । दोस्रो प्रयासमा भने मनीष गोल गर्न सफल भए । ६५औं मिनेटमा मनीषले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारलाई लाओसका गोलकिपर शेशेभाटले उत्कृष्ट बचाउ गरे ।

७३औं मिनेटमा जिलेस्पीजंग कार्कीले नजिकैबाट गरेको हेडर बाहिरिन पुग्यो । यससँगै उनी देशका लागि पहिलो गोल गर्ने अवसर गुमाउन पुगे । ८२औं मिनेटमा अञ्जनको हेडर पोस्ट नजिकैबाट नै बाहिरियो । इन्जुरी समयमा किरणले उत्कृष्ट बचाउ गरेपछि नेपालको अग्रता बच्यो । त्यससँगै नेपाल दोस्रो चरणमा प्रवेश गर्यो। जितपछि नेपालका प्रशिक्षक एनेसेले आफ्नो टोलीले राम्रो खेल्दै जित निकालेको उल्लेख गर्दै आगामी चरणमा योभन्दा कठिन प्रतिस्पर्धाहरू आउने बताए । उनले अझै पनि केही गल्ती भएको र आगामी दिन त्यसलाई सुधार गर्दै अगाडि बढ्ने उल्लेख गरेका छन् ।

मनीषले यो जितका लागि आफूहरू हकदार रहेको उल्लेख गर्दै यो जित प्रशिक्षकलाई समर्पित गरे । लाओसका सहायक प्रशिक्षक फौतपासोङ सेङदालाभोङले केही महत्त्वपूर्ण खेलाडीहरू घाइते भएको र नयाँ युवा खेलाडीले राम्रो गर्न नसकेको बताए । यसै खेलमार्पmत डिफेनडर अमृत श्रेष्ठले नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । उनले इन्जुरी समयमा जिलेस्पीजंगको स्थानमा मैदान प्रवेश गरेका थिए ।  नागरिक दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - ०७:५५:२० बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology