Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

डेढ महिना चल्ने एक दिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा शुरु हुँदै

डेढ महिना चल्ने एक दिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा शुरु हुँदै

images

एजेन्सी

१८, आश्विन २०८०
डेढ महिना चल्ने एक दिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा शुरु हुँदै
images

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा शुरु हुँदैछ । उद्घाटन खेलमा सन् २०१९ को विश्वकपका फाइनलिष्ट टिमहरु इङ्गल्याण्ड र न्यूजिल्याण्ड भिड्दै छन् । 

खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शुरु हुँदैछ । ४६ दिनसम्म चल्ने विश्वकपमा साविक विजेता इङ्गल्याण्डको दाबेदारी प्रमुख छ । 

तर घरेलु मैदानको हिसाबले हेर्ने हो भने भारत सबैभन्दा बलियो दाबेदार हो । सन् २०१९ को फाइनलमा खेल टाइ भएपछि सुपर ओभरमा समेत टाइ हुँदा सबैभन्दा बढी चौका हानेका आधारमा इङ्गल्याण्ड विजयी भएको थियो । 

त्यही हारको बदला लिन न्यूजिल्याण्ड पनि तयारी अवस्थामा देखिएको छ । दुवै टिमले अहिलेसम्म विश्वकपमा १० खेल खेलेका छन् । जसमा दुवैले ५–५ खेल जितेका छन् । 

यो विश्वकपमा १० टिमले फाइनल चरण खेल्दैछन् । यो विश्वकपमा दुई पटकको च्याम्पियन वेष्टइन्डिज छैन । 

तेन्दुलकरले ट्रफी लगेर नरेन्द्र मोदी स्टेडियममा पुगेपछि शुरु हुने 
यो विश्वकप एक दिवसीय क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सचिन तेन्दुलकरलाई ग्लोबल ब्रान्ड एम्बेस्डर बनाएको छ । 

तेन्दुलकर विश्वकपको ट्रफी लिएर नरेन्द्र मोदी स्टेडियममा पुग्नेछन् । त्यसपछि विश्वकप शुरु हुनेछ । न्यूजिल्याण्ड र इङ्गल्याण्ड सन् २०१९ को विश्वकपका फाइनललिष्ट हुन् । 

ब्रान्ड एम्बेसडर बनेसँगै तेन्दुलकरले भने, ‘विश्वकपले मेरो मनमा विशेष स्थान राखेको छ । सन् १९८७ मा बल ब्वाइदेखि ६ पटक विश्वकपमा प्रतिनिधित्व गर्नु अनि सन् २०११ को विश्वकप जित्नु मेरो लागि गौरवपूर्ण क्षण रहेको छ ।’

उनले अगाडि भने, ‘भारतमा हुने विश्वकपमा यी टिम र खेलाडीले मजबुदीले खेल्नेवाला छन् । म यो प्रतियोगितालाई लिएर उत्साही छु । मलाई विश्वास छ कि यो संस्करण बच्चाहरुलाई खेलमा आउन र देशको प्रतिनिधित्व गर्न प्रेरणा दिनेछ ।’

तेन्दुलकरले सन् १९९२ देखि २०११ सम्मका ६ संस्करण खेले । ४५ खेलमा उनले ५६.९५ को एभरेजमा २ हजार २७८ रन बनाए । जसमा ६ शतक र १५ अर्धशतक सामेल छन् । 

सचिनसँगै आईसीसीले सुरेश रैना, मिताली राज, भिभियन रिचर्डस्, एबी डे भिलियर्स, आर्यन मोर्गान, आरोन फिन्च, मुथैया मुरलीधरन, रोस टेलर र मोहम्मद हाफिजलाई ब्राण्ड एम्बेसडर बनाएको छ । 

वर्षाले कत्तिको बिगार्ला विश्वकप क्रिकेट ?
यो विश्वकप एक दिवसीय क्रिकेटमा वर्षाले बाधा पुर्याउने देखिएको छ । यसअघि चलिरहेका चार ओटा वार्मअप खेलहरु वर्षाले रद्द भएसँगै विश्वकपका खेलहरु पनि वर्षाको असरमा पर्ने देखिएको छ । 

भारतमा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण अहिलेसम्म चार वार्मअप खेल रद्द हुँदा ३ खेलको ओभर घटाउनु परेको छ । जसका कारण वर्षाले यसपालि विश्वकप रोमाञ्चक हुनेमा शंका उब्जेको छ ।  वार्मअपमा जम्मा १० खेल हुनुपर्नेमा ७ खेलमा असर परिसकेको हो । 

आयोजक भारतले आफ्ना दुवै वार्मअप खेलमा वर्षा झेल्नुपर्यो । मौसम विभागका अनुसार मनसुन १५ अक्टोबरसम्म भारतबाट बाहिरिने छ । जसका कारण त्यतिन्जेल वर्षाले असर गर्न सक्ने देखिन्छ । 

उत्तर–पूर्व तथा दक्षिणमा सामान्य भन्दा बढी नै वर्षा हुने अनुमान गरिएको छ । हाल प्रशान्त महासागरमा ‘अल निनो’ तुफानको स्थिति देखिएको छ । 

मौसमविद्हरुले भने यसको असर खासै नहुने बताएका छन् । 

विश्वकप १० शहरमा हुँदैछ ।

कस्तो हुनेछ त त्यहाँको मौसम ? 

१, अहमदाबादमा ५ खेल हुने छन् । नरेन्द्र मोदी स्टेडियममा विश्वकपको उद्घाटन खेल हुँदैछ । त्यसैगरी भारत–पाकिस्ततान तथा फाइनल खेल पनि यही मैदानमा हुनेछ । 

मौसमविद्का अनुसार उद्घाटन खेलमा वर्षाको असर पर्ने सम्भावना कम छ । 

२, चेन्नईको एम चिदम्बर स्टेडियममा पाँच खेल खेलिने छ । जहाँ भारतले पहिलो खेल अष्ट्रेलियासँग खेल्नेछ । यो खेलमा वर्षाले हल्का असर गर्न सक्नेछ । सबै खेल अक्टोबरभित्रै हुनेछन् ।

३, हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा तीन खेल हुनेछन् । जसमा दुई खेल पाकिस्तानले खेल्नेछ । यहाँ शुक्रबारको खेलका लागि वषाएको सम्भावना कम छ । 

४, हिमाचल प्रदेशको धर्मशालास्थित मैदानमा पाँच खेल हुनेछन् । जहाँ तीन दिनमा र दुई खेल दिन–रातमा हुनेछ । 

पहिलो खेल ७ अक्टोबरमा हुनेछ । बंगलादेश र अफगानिस्तानबीचको उक्त खेलमा वर्षा हुने सम्भावना रहेको छैन । 

५, बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा पाँच खेल हुनेछन् । २० अक्टोबरमा अष्ट्रेलिया र पाकिस्तानबीच पहिलो भिडन्त हुनेछ । 

बेंगलुरुमा शुरुआती दुई खेलमा वर्षाको सम्भावना भएको बताइएको छ । 

६, लखनउको अटल बिहारी वाजपेयी इकाना स्टेडियममा पहिलो पटक कुनै आईसीसीको खेल हुँदैछ । यहाँ पाँच खेल हुनेछन् ।

१२ अक्टोबरमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेल हुँदै गर्दा वर्षाको सम्भावना नरहेको जनाइन्छ । भारतले २९ अक्टोबरमा इङ्गल्याण्डसँग खेल्नेछ । 

७, पूणेमा पाँचद्ध खेल हुनेछन् । त्यहाँ वर्षाको सम्भावना कम छ । त्यहाँ पहिलो खेल १९ अक्टोबरमा हुनेछ । भारतले बंगलादेशसँग खेल्नेछ । 

८, कोलकातामा पाँच खेल हुनेछन् । सबै खेल २७ अक्टोबरपछि हुनेछन् । जसले गर्दा वर्षाको सम्भावना कम रहेको बताइएको छ । यद्यपि पहिलो खेलमा यसै भन्ने अवस्था छैन । 

९, महाराष्ट्र र मुम्बईमा वर्षा भइरहेको छ । तर वानखेडे स्टेडियममा २१ अक्टोबरदेखिमात्र खेल शुरु हुने भएकाले वर्षाको सम्भावना कम रहेको विभागले बताएको छ । यहाँ चार खेल हुनेछन् । मुम्बईमा नोभेम्बर समुद्री चक्रवातको असर हुने समय भएकाले त्यसको असर पर्छ कि पर्दैैन भन्नेमा शंका छ । 

१०, दिल्लीको अरुण जेट्ली स्टेडियममा पाँच खेल हुनेछन् । जहाँ पहिलो खेल ११ अक्टोबरमा भारतले अफगानिस्तानसँग खेल्नेछ । वर्षाको सम्भावना कम रहेको छ । 

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - ०८:०२:१० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology