चुम्लिङटार । राजमार्गमा यात्रारत यात्रु लक्षित गरि खोलिएको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा रहेको एक होटललाई गुणस्तरहीन खाना खुवाएको भन्दै खाद्य गुण तथा नियन्त्रण विभागले सिलबन्दी गरेको छ । विभागले बिहिबार करिब ४ बजेतिर गरेको अनुगमनमा होटलले यात्रुहरुलाई गुणस्तरहीन खाना खुवाएको पाईएपछि सिलबन्दी गरेको हो ।
चाडपर्वको बेला मुख्यराजमार्गमा संचालित होटलहरुले अखाद्य पदार्थको प्रयोग र अस्वस्थ खानेकुरा खुवाएको अत्याधिक सूचना आएपछि विभागको टोलीले उक्त होटलमा अनुगमन गरेको हो । होटलमा अनुगमन गर्दा खानेकुरा राम्रोसँग भण्डारण नगरेको, बासी खाने कुराहरु बेच्नको लागि राखेको, काम नगर्ने बिग्रेको फ्रीजमा बेच्नको लागि खानेकुरा राखेको, खाना पकाउने भान्सा मापदण्ड अनुसार नभएको, भान्साको सरसफाइ राम्रो नभएको, खाना पकाउने तेलको गुणस्तर राम्रो नभएको, प्रयोग नभएको मासुलाई बोराले छोपेर राखेर उपभोक्ताको स्वास्थमा गम्भीर लापरवाही गरेको पाईएको विभागले जानकारी दिएको छ ।
अनुगमनमा अत्यधिक त्रुटीपाइएपछि १ हप्ताको लागी विभागले होटलमा सिलबन्दी गरेको र मापदण्ड पूरा गरेर मात्र उक्तहोटल सन्चालनमा आउन सक्ने खाद्य तथा गुण नियन्त्रण विभागले जानकारी दिएको छ।